INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नपा–२ बामे निवासी २० वर्षीय रेवन्त बुढाथोकीलाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई विवाह गर्छु भनी आरोपितले घर लैजाँदै गर्दा स्थानीय जङ्गलमा राति ०७९ कात्तिक १२ गते बलात्कार गरेको र पछि दुबै हात बाँधेर भिरबाट खसालेको भन्दै पीडित पक्षले कात्तिक १४ गते जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योग अन्तरगतको लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर सन्तोष खनालले जानकारी दिनुभएको छ ।

विवाह गर्छु भनेर छोरीलाई भगाएर लगेको रहेछ, पीडितकी आमाले इन्सेक प्रतिनिधिसँग कुरा गर्दै भन्नुभयो, कात्तिक १२ गते राति करिब नौ बजे तिर साथीको जन्मदिन छ भनेर छोरी घरबाट निस्किएकी हुन्, भोलीपल्ट दिउँसो सल्लीबजारबाट एक अपरिचित महिलाले फोन गरेर छोरीको अवस्थाका विषयमा बताउनुभयो अनि हामी तत्काल घटनास्थल पुगेका हौं ।

आरोपितले छोरीलाई जङ्गलमा लगेर बलात्कार गरेछ, पछि कुटपिट गरी दुबै हात बाँधी, घाँटीमा सलले बेरेर भिरबाट खसाली दिएछ, उहाँले भन्नुभयो, बिहानको समयमा छोरीलाई होस आएपछि सुरक्षित ठाउँ खोज्दै स्थानीय एक घरमा पुगेर हामीलाई फोन गर्न लगाएको रहेछ । उहाँले छोरीकोे अवस्था गम्भीर भएका कारण थप उपचार गर्न बाहिर लैजानु पर्ने र आर्थिक समस्या भएको भन्दै कानुनी प्रकृयामा जान आवश्यक सहयाग गरीदिन आग्रह समेत गर्नुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, सल्यानमा कात्तिक १३ गते राति गरिएको अस्पतालले जनाएको छ । साथै शरीरका विभिन्न ठाउँमा चोट लागेका कारण टाउको र अनुहारको एक्सरे गरेपछि सिटिस्क्यान गर्न नेपालगञ्ज रिफर गरिएको इन्स्पेक्टर खनालले बताउनुभयो । हाल आरोपित हिरासतमा रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो