जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ६३ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले १ सय ६७ मतदानस्थलमध्ये ६३ ओटालाई अति संवेदनशील सूचीमा राखेको हो ।
विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै पर्साका १ सय ६७ ओटा मतदानस्थलमध्ये समितिले ६३ ओटा मतदानस्थललाई अति संवेदनशील, ८५ ओटा मतदानस्थललाई संवेदनशील र १९ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखेको छ ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर वर्गीकरण गरिएको सशस्त्र प्रहरी १३ नं. गणका प्रमुख सशस्त्र प्रहरीका एसपी तेजप्रसाद पोख्रेलले बताउनु भयो ।
पोख्रेलले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउनु भयो । निर्वाचनका लागि जिल्लामा १ सय ६२ मतदानस्थलमा १ सय ४८ केन्द्र तोकिएका छन् ।
यसभन्दा अगाडिका निर्वाचनमा ४ सय २ मतदान केन्द्र मात्र रहेकोमा यस पटक १० ओटा मतदान केन्द्र थप गरिएको पोख्रेलले जानकारी दिनु भयो ।
निर्वाचन आयोगसहित सुरक्षा निकाय र राजनीतिक दलहरूको समेत सुझावका अधारमा मतदान केन्द्र थप भएको उहाँले बताउनु भयो ।