आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुर्खेतमा २० वटा मतदानस्थल अति संवेदनशील तोकिएको छ । कुल १ सय ३९ मतदानस्थल मध्ये २० ओटा मतदानस्थल अति संवेदनसिल, ८६ संवेदनसिल तथा ३३ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गिकरण गरिएको छ । जिल्लामा जम्मा २ सय ९३ मतदान केन्द्र तोकिएको छ ।
यस्तै जिल्लामा २ लाख ४३ हजार ६ सय १४ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालेसेले बताउनु भएको छ ।
जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा २ सय ९१ मतदान केन्द्र र १ सय ४० मतदान स्थल रहेका थिए । आगामी निर्वाचनका लागि जिल्लामा २ वटा मतदान केन्द्र थप भएका छन् भने १ वटा मतदानस्थल थप भएको निर्वाचन कार्यालयका प्रमुख चालिसेले बताउनुभयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक बसेर सुरक्षा योजना बनाएर यसको कार्यान्वयन भइसकेको बताउँदै जनशत्ति व्यवस्थापनका लागि तथ्याङ्क माग गरिएको बताउनुभयो । अस्थाई मतदाता नामावलीका लागि अन्तिम चरणको कार्य भइरहेको उहाँको भनाई छ । निर्वाचन आचारसंहिताको पनि अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी माधवप्रसाद श्रेष्ठका अनुसार प्रदेशमा निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै ९ हजार ७८ जना म्यादी प्रहरी छनोट गरिएको छ । जिल्लागत रुपमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उहाँको भनाई छ ।