१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले निजगढ नगरपालिका–२ का वडा अध्यक्ष ३५ वर्षीय राजु भनिने राजन श्रेष्ठ बिरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा असोज २५ गते दिएको उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपित श्रेष्ठले असोज १९ गते दशैँको टिकाको दिन आरोपितको घरमा बलात्कार गरेको भन्दै पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय निजगढमा असोज २५ गते उजुरी दिएकी थिइन् ।
विभिन्न प्रलोभन र डरत्राश देखाउँदै गत एक वर्षदेखि आरोपित श्रेष्ठले अमर्यादित कार्य गर्दै आएको पीडित बालिकाले बताउनु भयो ।
असोज २४ गते पीडितका आफन्त र आरोपित बिच घटनाका बारेमा छलफल हँुदा आरोपित श्रेष्ठले घटना लुकाउन अनुरोध गरेपछि पीडित पक्षले हातपात गर्न लाग्दा आरोपित छलफलबाट भागेको पीडितकी आमाले बताउनु भयो ।
पीडितकी आमाले दिएको उजुरी र पीडितको बयान साथै स्वास्थ्य परीक्षण प्रतिवेदनका आधार कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सन्जीव ओलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २५ गते निजगढ अस्पतालमा गरिएको छ । घटनापछि आरोपित श्रेष्ठ फरार रहेकाले खोजी कार्य भइरहेको इन्स्पेक्टर ओलीले जानकारी दिनु भयो ।