तनहुँमा ६ ओटा मतदानस्थल अति संवेदनशील रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा ६ ओटा अति संवेदनशील रहेको पाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनु भयो ।
जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिको बैठकले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको प्रजिअ अर्यालले जानकारी दिनु भयो ।
तनहुँका १ सय ४२ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ६ ओटा अति संवेदनशील, ५२ ओटा संवेदनशील र ८२ ओटा सामान्य रहेको प्रजिअ अर्यालले जानकारी दिनु भयो ।
विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाएर मतदानस्थलको वर्गीकरण गरिएको भन्दै प्रजिअ अर्यालले निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने बताउनु भयो ।
स्वच्छ, शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउने गरी सुरक्षाको उचित प्रबन्ध मिलाइएको भन्दै प्रजिअ अर्यालले मतदान स्थललाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयलाई आधार मानेर वर्गीकरण गरिएको बताउनु भयो ।