आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज २३ गते राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोयन दर्ताका क्रममा आचारसंहिता उल्लङ्घन गरे, नगरेको इन्सेक प्रदेश १, कार्यालयले अनुगमन गरेको छ ।
नेपाल सरकारले भदौ १३ गते राजपत्रको भाग ५ मा प्रकाशन गरेको निर्वाचन आचारसंहिता ०७९ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा आचारसंहिता विपरित भएका गतिविधिको इन्सेकले अनुगमन गरेको छ ।
इन्सेक प्रदेश १ कार्यलय प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, मोरङ प्रतिनिधि विनोद सुवेदी र पत्रकार महासङ्ख मोरङ शाखाका सचिव नेत्र अधिकारी सम्मिलित अनुगमन टोलीले मोरङ निर्वाचन क्षेत्र न.४, ५ र ६ का लागि उम्मेदवारहरूले दर्ता गराएको मनोनयनको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता ०७९ विपरितका गतिविधि गरेको पाइएको छ ।
मनोनयन दर्ताका क्रममा अधिकांश निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता दफा १३ मा व्यवस्था गरिएको जुलुस र दफा १४ मा व्यवस्था गरिएको सवारी साधनको प्रयोग सम्बन्धी आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।
दफा १३ को उपदफा ख मा व्यवस्था गरिएको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिन्हृ वा झण्डा अङ्कित लोगो वा स्टिकरको प्रयोग वा कपडाको टोपी प्रयोग गर्न नपाइने व्यवस्था भएपनि सो वितरितका गतिविधि अनुमगनका क्रममा पाइएको छ ।
प्रदेश १, मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।
प्रदेश १, मा असोज २३ गते सौहार्दपूर्ण ढङ्गमा मनोनयन दर्ता भएपनि आचारसंहिता भने उल्लङ्खन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मोरङ निर्वाचन क्षेत्र न.५ का लागि उम्मेदवारी दर्ता गराउने क्रममा आचारसंहिता विपरितका कार्य भएको पाइएको छ । क्षेत्र न.५ का लागि गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि नेकपा माओवादीका शिवकुमार मण्डल, प्रदेशसभाका ‘क’ का लागि नेपाली कांग्रेसका गयानन्द मण्डल, प्रदेशसभा ‘ख’ का लागि नेपाली कांग्रेसका अमृत अर्याल, प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, नेपाल कम्युनिष्ट पाटी(एमाले) र जनता समाजवादी पार्टी(जसका) का संयुक्त उम्मेदवार राजकुमार यादव, प्रदेशसभा ‘क’ का लागि एमाले सन्तोष साह ‘ख’ का लागि जसपाका जयराम यादवले मनोनयन दर्ता गराउने क्रममा आचारसंहिता विपरितका कार्य गरेको पाइएको छ । मनोनयन दर्ताका लागि मोरङ क्षेत्र न.५ को निर्वाचन अधिकृतको कार्यालय जाने क्रममा झाँकीसहित बालबालिकाको प्रयोग, आचारसंहितामा तोकिएको भन्दा बढी सवारीसाधन र आचारसंहिता विपरितका झण्डा प्रयोग गरेको पाइएको छ । मोरङ निर्वाचन क्षेत्र न.६ का लागि प्रतिनिधिसभाका लागि गठवन्धनबाट डाक्टर शेखर कोइराला, प्रदेशसभा ‘क’ का लागि नेकपा माओवादीका जीवन आचार्य, ‘ख’ का लागि नेपाली कांग्रेसका भीम पराजुलीले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि लालबाबु पण्डित, प्रदेशसभा ‘क’ का लागि रीता न्यौपाने र ‘ख’ का लागि पर्शुराम बस्नेतले मनोनयन दर्ता गराउनु भएको छ ।








खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता विपरित गतिविधि भएको पाइएको छ । उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने आचारसंहितामा उल्लेख गरिएको भएपनि जिल्लामा मनोनयन दर्ता गराउने क्रममा तोकिए भन्दा बढी व्यक्ति लिएर गएको पाइएको छ । गठनवन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्म्मेदवार नेकपा माओवादीका रामकुमार राई, नेपाली कांग्रेसका तर्फबाट प्रदेश ख का उम्मेदवार भूपेन्द्र राई, नेकपा एसका प्रदेशसभा क मा उम्मेदवार वीरवल राईले १ सय बढी कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराएको अनुगमनका क्रममा पाइएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि विशाल भट्टराई तथा प्रदेश क मा राम दङ्गाल तथा ख मा पाचकर्ण राईले उम्मेदवारी दर्ता गराउने क्रममा २५ जना भन्दा बढी कायकर्ता लिएर मनोनयन दर्ता गराएको अनुगमनका क्रममा पाइएको छ । गठवन्धनप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सर्वधन राईले प्रतिनिधिसभा र सुवास पोखरेल, धर्मराज पोखरेलले प्रदेशसभा ख का लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने क्रममा राई र पोखरेलले तोकिए भन्दा बढी कार्यकर्ता लिएर गएको अनुगमनका क्रममा पाइएको छ ।



भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा असोज २३ गते शान्तिपूर्ण ढङ्गमा मनोनयन दर्ता भएपनि आचारसंहिता भने उल्लङ्घन भएको पाइएको छ । मनोनयन दर्ताका क्रममा पाटीका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले तोकिए भन्दा बढी कार्यकर्तालाई सहभागी गराएका छन् । निर्वाचन आयोगले २५ जना मात्र जुलुसमा सहभागी हुन पाइने भनेको भए पनि त्यो भन्दा बढीको संख्यामा राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी भएको अनुगमनका क्रममा पाइएको छ । जिल्लामा प्रत्यक्षतर्फ १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्यका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता बिहान १० बजे सुरु भई साँझ ५ बजेसम्म सञ्चालन भएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी नवराज कार्कीले बताउनु भयो । प्रतिनिधिसभा सदस्यमा तीन स्वतन्त्रसहित १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा राजनीतिक दलहरूबाट ‘निर्वाचन आचारसंहिता २०७९’ मा उल्लेख भएका आचारसंहिताको उल्लङ्घन भएको पाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दलहरुले वेवास्ता गरेका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०७९ को दफा १३ मा (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा वा टोपी क्याप,भेष्ट टिसट,ज्याकेट,कमीज, गम्छा, मास्क, लकेट,ब्याज,माक्स वा लकेट वा झोला बोक्न नहुने भनिएको छ । जिल्लामा इन्सेकले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू अभिलेख गरेको छ । आचारसंहिताको दफा दफा १३ को (ण) मा निर्वाचन उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा गाजा तथा झाँकी सहित जान नहुने, भनिएको छ । तर नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले झापाको क्षेत्र न. ५ मा प्रतिनिधि सभाको लागि मनोनयन दर्ताका क्रममा सो आचारसंहिता उल्लङ्घन गर्नु भएको छ । गठबन्धनका तर्फबाट झापा प्रतिनिधि सभा क्षेत्र न. २ का उम्मेदवार हरिकुमार राना र प्रदेश सभा (क) र (ख) को उम्मेदवारीका दर्ताका क्रममा अचारसंहिता उल्लङ्घन गरेका छन् । सहभागीहरूले मापदण्ड विपरीतका झण्डा व्यानर प्रयोग गरी निर्वाचन अचारसंहिता उल्लङ्घन गरेको अनुगमनका क्रममा पाइएको छ । गठबन्धनका तर्फबाट झापा प्रतिनिधि सभा क्षेत्र न. ३ का उम्मेदवार कृष्ण सिटौलाले मनोनयनका दर्ताका क्रममा आम सभाका क्रममा मापदण्ड सहभागीहरुले मापदण्ड विपरीतका झण्डा व्यानर प्रयोग गरी निर्वाचन अचारसंहिता उल्लघंन गरेका छन् । गठबन्धनका तर्फबाट झापा प्रतिनिधि सभा क्षेत्र न. २ का उम्मेदवार देवराज घिमिरेले मनोनयनका दर्ताका क्रममा मापदण्ड विपरीतका झण्डा व्यानर प्रयोग गरी निर्वाचन अचारसंहिता उल्लङ््घन गरेको पाइएको छ ।




ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद–२ को ४ (छ) मा बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नपाईने उल्लेख छ । तर नेकपा एमालेले मनोनयन दर्ताका लागि सहभागी गराएको नौमति बाजामा बालबालिका प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । परिच्छेद–३ को ५ (क) मा नेपाल सरकार प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा गर्न नपाइने उल्लेख छ । तर आचारसंहिता विपरित मन्त्रीहरू सहभागी भएका छन् । प्रदेश १, सरकारका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगाम र सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले आचाररसंहिता उल्लङ्घन गरेको अनुगमनमा पाइएको छ । मन्त्री हाङगाम गठबन्धन उम्मेदवार (कांग्रेस र माओवादी) र मन्त्री तुम्बाहाम्फे सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मंञ्चको उम्मेदवारसहित मनोनयन दर्ता गर्न पुगेका हुन् । परिच्छेद–४ को १३ (ण) मा मनोनयन गर्न जाँदा २५ जनाभन्दा बढि लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने उल्लेख छ । तर नेकपा एमाले र सत्ता गठबन्धन दल नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले आचार संहितामा तोकिए भन्दा बढिसहित नौमति बाजा र साउन्ड सिस्टम प्रयोग गरेको पाइएको छ । संघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्चले कलाकार प्रयोग गरि च्याब्रुङ बाजा बजाएका छन् । २५ जना भन्दा बढिलाई प्रवेश निषेध गरेकाले र्यालीमा गएकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय गेटबाहिर बसेर फर्किएका छन् ।





ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ विपरित उम्मेदवारी दर्ता गराइएको छ । इन्सेक अनुगमनका क्रममा राजनैतिक दलहरूले निर्वाचन आचारसंहिता विपरित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्न जाँदा प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जान नहुने उल्लेख गरेको भएपनि आचारसंहिता विपरित २५ जना भन्दा बढीको उपस्थितमा नारा जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थिए । नेकपा एमाले र गठबन्धन तर्फका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादी लगायतका दलहरुले २५ जना भन्दा बढी सहभागी गराएका छन् । उम्मेदवारी दर्ताका लागि ४ फिटभन्दा लामो झण्डा र फ्लेक्स बोर्ड प्रयोग गरेका छन् । प्रतिनिधिसभाका लागि जिल्लामा एक स्वतन्त्रसहित १० जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभा सदस्यका प्रदेश सभा क तर्फ लागि सात जना र प्रदेशसभा सदस्य ख तर्फ एक स्वतन्त्र सहित आठ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि धनकुटामा विभिन्नि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको छ। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा सत्ता गठबन्धन दल कांग्रेश, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले क्रमश प्रतिनिधिसभा र प्रदेशसभा क र प्रदेशसभा ख मा उम्मेदवारी दर्ता गराएका छन् । धनकुटामा प्रतिनिधीसभामा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा क ५ जना र प्रदेशसभा ख ५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । मनोनयन दर्ता कै दिन धनकुटामा राजनीतिक दलहरुले आचारसंहिता विपरीतका गतिविधिहरुमा बढवा दिइएको पाइएको छ । इन्सेकले गरेको अनुगनमका क्रममा राजनीतिक दलहरुको मनोनयन दर्ताका क्रममा बालबलिकाहरुलाई सहभागि गराउने, शक्ति प्रर्दशनका तोकिएको भन्दा बढि संख्यामा मानिसको सहभागि गराउने, आभसभाहरु गर्ने लगायतका गतिविधिहरु गरेको पाएको छ । मनोनयन दर्ताका क्रममा राजनीतिक दलहरूले आचारसंहितालाई बेवास्ता गर्दै निर्वाचन लक्षित आचारसंहिता विपरीतका विभिन्न गतिविधि बढाउँदै लगिरहेको अनुगमनका क्रममा पाइएको छ । मनोनयन दर्ताका क्रममा प्रचार प्रसारका नाममा सार्वजनिक सवारी साधानको रुपमा प्रयोग हुने अटो रिक्सामा उम्मेदवारको पोष्टर सहितको ठुला व्यानर, निर्वाचन चिन्ह अंकीत झण्डा, गाडीमा तोकिए भन्दा ठूला साइजका झण्डा राखेका छन् । ठुला राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरिएको भएपनि कार्यान्वयन गर्ने निकाय उदासिन देखिएको छ । मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा हालसम्म लिखित रुपमा कुनै उजुरी नआएको बताउनु भयो । उहाँले उम्मेदवार मनोनयन दर्ताको दिनदेखि आचारसंहिता कार्यान्वयनमा कडाइ गरिने बताउनु भएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा जिल्लामा निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ विपरित हुने गरी मनोनयन दर्ता गराएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । उम्मेदवारी दर्ता गर्न जाँदा प्रस्तावक,समर्थक सहित २५ जना भन्दा बढीको जान नहुने उल्लेख गरेको भएपनि आचारसंहिता विपरित २५ जना भन्दा बढीको उपस्थितमा नारा जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । नेकपा एमाले र गठबन्धन तर्फका नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र समाजवादी लगायतका दलहरुले २५ जना भन्दा बढी सहभागि गराएका थिए । त्यस्तैगरी उम्मेदवारी दर्ताका लागि ४ फिटभन्दा लामो झण्डा र फ्लेक्स बोर्ड प्रयोग गरेका छन् । प्रतिनिधिसभाका लागि जिल्लामा दुई स्वतन्त्रसहित १२ जनाको दर्ता भएको छ । त्यस्तै प्रदेश १ मा प्रदेशसभा सदस्यका लागि १ स्वतन्त्र सहित ८ जना र प्रदेश २ मा ३ स्वतन्त्र सहित १० जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा जिल्लामा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । निर्वाचन आयोगले प्रमुख दलहरू तथा स्वतन्त्रसहित सबै उम्मेदवारलाई चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेपनि असोज २३ गते मनोनयन दर्ता गर्ने कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस उम्मेदवारले बालबालिकाको प्रयोग गरेको पाइएको छ । निर्वाचन क्षेत्र नम्बर २ र ४ मा दुवै पार्टीले बालबालिकाको प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आचारसंहितको परिच्छेदमा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनिएको छ । इनरूवा निर्वाचन क्षेत्र नम्बर २ र ४ मा असोज २३ गते पार्टीले सरकारी नम्बर प्लेटका गाडी प्रयोग गरेको पाइएको छ । जिल्ला समन्वय समिति कार्यालयको बा २ झ १४३३ र इनरूवा नगरपालिकाको कार्यालयको को १ झ ५१८ नम्बरको गाडी प्रयोग गरेको पाइएको हो । दुई ओटै सरकारी सवारी साधन नेपाली कांग्रेसले प्रयोग गरेको बारेमा पार्टी सभापति केदार भण्डारीले आफूहरू नियतवश नभई चुनावको मनोनयन दर्ताको गतिविधि हेर्नका लागि आएको प्रतिकृया दिनु भएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले भने सरकारी सवारी प्रयोग वा दुरूपयोग भएको बारेमा कुनै जानकारी आफूलाई नआएको बताउनु भएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा जिल्लामा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । इन्सेकले गरेको अनुगमनका क्रममा सल्लेरीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले,नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने क्रममा आचारसंहिता विपरितका गतिविधि गरेको पाइएको छ । मनोनयन दर्ता अघि राजनीतिक दलहरूलाई आचारसंहिताका विषयमा जानकारी गराएपनि उम्मेदवारहरूले केही हदसम्म मात्र आचारसंहितालाई मानेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो । सहायक निर्वाचन अधिकृत कालाखेतीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ, प्रदेशसभा ’क’ का लागि सात र ’ख’ का लागि ६ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मानवीर राई र पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता गर्न जाने क्रममा सबै राजनितिक दलहरूले निर्वाचन आचारसंहिताको पालना नगरेको पाइएको छ । निर्वाचनले आयोगले तयार पारेको आचारसंहितामा २५ जना भन्दा बढी जान नपाउने व्यवस्था गरेपनि जिल्लामा आचारसंहिता कार्यान्वयन नभएको स्थानीय दुर्गा बस्नेतले बताउनु भयो ।


उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा राजनैतिक दलका उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । आगामी मङ्सिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता गराउने क्रममा ‘निर्वाचन आचारसंहिता २०७९’ उल्लङ्घन भएको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आचारसंहिताको परिच्छेद–३ को ५ (क) मा नेपाल सरकार प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा गर्न नपाइने उल्लेख छ । तर आचारसंहिता विपरित परराष्ट्र मन्त्री नारायण खड्का दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो । नेपाली काङ्ग्रेसका तर्फबाट उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. १ बाट खड्काले मनोनयन दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले, गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, राप्रपा नेपाल, जसपा लगायतका दलहरूले निर्वाचन आचारसहिंता विपरित गतिविधि गरेको पाइएको छ । उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने आचारसंहितामा उल्लेख भएपनि जिल्लाका दुवै क्षेत्रमा मनोनयन दर्ता गराउने क्रममा तोकिए भन्दा बढी व्यक्ति लिएर गएको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आचारसंहिता–२०७९ को दफा १३ मा (घ) विपरित जुलुसमा राजनैतिक दलको चिह्न तथा झण्डा प्रयोग गरिएको छ । अनुगमनका क्रममा उम्मेदवारी दर्ताका लागि ४ फिटभन्दा लामो झण्डा र व्यानर प्रयोग गरेका छन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा लिखित रूपमा कुनै उजुरी नआएको बताउनु भयो ।