भजनी नगरपालिका क्षेत्रका विद्यालयहरुमा बाढी पसेर हिलाम्मे हुनुका साथै विद्यालयका भौतिक संरचनामा समेत क्षति पुगेपछि एक सातादेखि पठनपाठन प्रभावित हुुँदो आएको छ ।
०७९ असोज १ गते देखि परेको अविरल वर्षाका कारण विद्यालयमा बाढी पसेर कक्षा कोठा हिलाम्मे हुनुका साथै विद्यालयका संरचनाहरुमा समेत क्षति पुगेपछि पठनपाठन प्रभावित भएको हो ।
बाढी र डुवानका कारण विद्यालयमा रहेका शिक्षक पुस्तिका, शैक्षिक कागजात, शैशिक्ष्क सामाग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटर लगायका सामानमा क्षती भएपछि पठनपाठन प्रभावित भएको भजनी नगरपालिकाका शिक्षा शाखा प्रमुख पङ्खबहादुर शाहले बताउनु भयो ।

केही विद्यालयमा बाढी पसेका कारण कक्षा कोठा नै हिलाम्मे भएर कक्षा कोठामा फोहर जम्मा भएकोले शिक्षक, विद्यार्थीहरुले सरसफाई गर्ने कार्य गरिरहेका र केही विद्यालयमा बाढीबाट विस्थापित भएकाहरुलाई राखिएको कारण पठनपाठन प्रभावित भएको प्रमुख शाहले बताउनु भयो ।
यस नगरपालिका क्षेत्रमा ३९ ओटा संस्थागत र १५ ओटा निजि विद्यालय गरी ५४ ओटा विद्यालय रहेकोमा गणेशमान माध्यामिक विद्यालय, कर्मेश्वर आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, कृष्णध्वज माध्यामिक विद्यालय, जनजागृती माध्यामिक विद्यालय लगायतका विद्यालयमा डुवान भएर क्षति भएको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताउनु भयो ।

बाढीका कारण विस्थापित हुनु भएका मध्ये पनि ज्येष्ठ नागरिक, गर्भवति, सुत्केरी,अपाङ्गता भएका व्यक्तिहरु र बालबालिका लागि स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न संघसस्थासँगको सहयोगमा स्नेह केन्द्र सञ्चालन गरी स्वास्थ्य उपचार, परामर्श सेवा र अवाश्यक खाद्य सामग्री उपलब्ध गराउँदै आएको भजनी नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो— ‘विद्यालयमा भएको यथार्त क्षतिको विवरण पठाउन सम्बन्धीत विद्यालयका प्रधानध्यापकहरुलाई अनुरोध गरेका छौँ । यथार्त विवरण प्राप्त भएपछि सोही अनुसारको योजना बनाएर अगाडी बढछौँ ।’
गाउँभरी नै बाढी पसेर घरमा बस्न नसक्ने अवस्था भएकोले हाल विद्यालयमा आश्रय लिएर बस्दै आएको कारण पनि घरमा बस्न सक्ने वातावरण नभएसम्म बालबालिकाहरुलाई विद्यालय पठाउन नसकिने स्थानीय कस्तुरीया चौधरीले बताउनु भयो ।
उहाँले बाढीका कारण विस्थापित भएकाहरु विद्यालयमा नै बस्दै आउनु भएकोले तत्काल नै विद्यालयमा पठनपाठन सुचारु हुन नसक्ने बताउनु भयो ।

असोज १ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण कैलाली जिल्लामा ११ हजार ३ सय ९४ घरपिरवार प्रभावित हुनु भएको र सबै भन्दा बढी भजनी नगरपालिकामा मात्रै ७ हजार ७६ घरपरिवार प्रभावित हुनु भएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
बाढीका कारण दुई जनाको मृत्यु भएको र ६६ जना घाइते हुनु भएको समेत जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी जोशीले बताउनु भयो ।
