खाँडादेवी गाउँपालिका–३ भिरपानीकी ५० वर्षीया भिभा माझीको ०७९ असोज ९ गते माझी समूदायको पितृ कार्यमा भएको अन्धविश्वासको नाम हत्या भएको छ ।
स्थानीय ४० जनाभन्दा बढी जम्मा भई पितृले अराएको भन्दै लछारपछार गरेर अक्षता (चामल) ले हिर्काउँदा माझीको मृत्यु भएको हो ।
माझी समूदायमा सोह्र श्रद्धमा गरिने कार्यमा पितृको आदेश मानेको भन्दै चामलले हिर्काएर र लछारपछार गर्दा माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर दिलीपकुमार थापाले जानकारी दिनुभयो । घटनामा पीडितकी ७० वर्र्षीय आमा घाइते हुनुभएको छ ।
थापाका अनुसार माझी समुदायको ०७९ भदौ २४ गतेदेखि सुरु भएको सोह्र श्राद्ध समापनको दिन असोज ९ गते पितृ चढेको भन्दै काम्न थालेका स्थानीयले आमा छोरीको नाम लिएपछि उहाँहरूको घरमा गएर अक्षेताले हानेका थिए ।
गाउँले जम्मा भएर काम्दै चामलले हान्ने र लछारपछार गर्दा माझीको घटनास्थलमा नै ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर थापाले बताउनुभयो ।
मृतकको शरीर भरी चामल र अनुहारमा चामलले लागेको घाउ देखिएको उहाँले बताउनुभयो।
शव पोष्टमार्टका लागि ०७९ असोज ९ गते नै मन्थली अस्पतालमा ल्याएको छ । मृतकको तर्फबाट जाहेरी दिने मानिस कोही नभएको कारण पोष्टमार्टम गर्न ढिलो भएको उहाँले बताउनुभयो ।
प्रक्रिया पूरा गरेर पोष्टमार्टम गरिने इन्स्पेक्टर थापाले जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आरोपमा केही स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । ‘धेरै जनाको संलग्नता जस्तो देखिन्छ, अनुसन्धान गर्दै छौँ‘, इन्स्पेक्टर थापाले भन्नुभयो ।