INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजविराज नगरपालिका–१६ बोरियाका २८ वर्षीय सुशीलकुमार यादवलाई भदौ ३० गते १० वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश लालकाजी श्रेष्ठको इजलासबाट बलात्कार कसुरमा यादवलाई १० वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र १ हजार ८ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न फैसला गरेको हो ।

पीडित युवतीलाई यादवले ०७६ जेठ १२ गते बलात्कार गरेको भन्दै पीडितकी सौतेनी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार ४ गते उजुरी दिनु भएको थियो ।

बलात्कार घटनमा संलग्न रहेको आरोपमा प्रहरीले यादवलाई ०७६ असार ८ गते गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ असार ८ गते स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा पीडित ६ महिनाकी गर्भवती रहेको अस्पतालले जनाएको थियो ।

आरोपित यादव कञ्चनरुप नगरपालिका कार्यालयमा ब्याक होल्डर रोडरका चालकका रुपमा करार सेवामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

कञ्चनरुप नगरपालिका–८ मा डेरा गरी बसेका बेला आपसमा प्रेम सम्बन्ध भई ०७५ भदौ १० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी मन्दिरमा विवाह गरेको आरोपित यादवले बताउनु भयो ।

विवाहिता पत्नीले उनकी सौतेनी आमाको बहकाउमा परी झुठा उजुरी दिएको आरोपित यादवले बताउनु भयो ।

जिल्ला अदालतले आरोपित यादवलाई ०७६ साउन १ गते १ लाख १० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।

अन्य

भिडियो