नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले व्यास नपा-४ फराकचौरमा नेकपा एमालेका कार्यकर्ताहरूको घरमा आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ ।

वैशाख २६ गते राति १० बजे सोही वडाका काङ्ग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार निरबहादुर खड्काको नेतृत्वमा २०/२२ जनाको समूहमा मोटरसाइकलमा गएका काङ्ग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ता बिन्दु अधिकारीको घर भित्र पसी तोडफोड गरेको पीडित पक्षको आरोप छ ।
काङ्ग्रेसका कार्यकर्ताले महिलाहरूलाई अपशब्द गाली गर्दै, एमालेविरुद्ध नाराबाजी गर्दै घरमा पसी आक्रमण गरेको एमालेले जनाएको छ ।
आक्रमणमा अधिकारका १६ वर्षीय छोरा नविन अधिकारीलाई काङ्ग्रेसका कार्यकर्ताहरूले खुकुरी र रडले आक्रमण गरेको नेकपा एमालेका व्यास नगर पालिका सङ्गठन कमिटीका संयोजक श्रीराम कार्कीले बताए ।
अधिकारीको टाउकोमा चोट लागेको छ । उनको उपचार पोखरास्थित फिस्टेल अस्पतालमा भइरहेको छ । घटनामा बिन्दु अधिकारी, कल्पना नेपालीलगायत एमाले कार्यकर्ताहरू घाइते भएका थिए ।
एमालेले उक्त घटनामा संलग्न काङ्ग्रेसका कार्यकर्ताहरू प्रविन कैनी, आशिस कैनी, विपिन गुरुङ, सरोज खड्का, पुनम थापालगायतलाई कारबाहीको माग गर्दै वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।