तिलाठी कोइलाडी गाउँपालिकाको सबै स्वास्थ्य संस्थाहरूमा सिटामोल र जीवनजल जस्ता अति आवश्यक औषधिको अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
गाउँपालिकाको एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि सर्वसाधारण मर्कामा परेका हुन् ।
स्वास्थ्य चौकीहरूमा सामान्य सिटामोल र जीवनजलसमेत नहुँदा बिरामीहरू खाली हात घर फर्किन बाध्य भएको स्थानीय सञ्जित मण्डलले गुनासो गर्नु भयो ।
अति आवश्यक औषधिहरूको मौज्दात रित्तिएको तथा सरकारी अस्पताल र स्वास्थ्य चौकीबाट निःशुल्क बितरण हुने औषधि व्यवस्थापन गर्न गाउँपालिका अग्रसर नदेखिएको स्थानिय भरत मण्डलले दुःखेसो सुनाउनु भयो ।
वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रहरूमा दुई महिनादेखि सिटामोल र जीवनजलको अभावले आमजनता आक्रोशित बनेको जनप्रतिनिधिहरू नै बताउँछन् ।
व्यक्तिगत ५ हजार रुपियाँको सिटामोल औषधि किनेर तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा दिएको जानकारी दिनुहुँदै वडा नम्बर ८ का वडा अध्यक्ष सत्यनारायण यादवले भन्नु भयो–‘बारम्बार गाउँपालिका कार्यालयमा समस्या समाधानका लागि आवाज उठाए पनि कुनै सुनवाई भएन ।’
वडा नम्बर २ का वडा अध्यक्ष कमल मण्डलले औषधिको अभावको समस्या प्रमुख समस्या रहेको बताउनु भयो । सामान्य औषधिको अभावमा सर्वसाधारणले उपचार नपाउनु जनप्रतिनिधिका लागि ठूलो चुनौति बनेको उहाँको भनाई छ । गाउँपालिकाको बैठकमै यसबारे चर्चा चले पनि समाधानतर्फ अध्यक्षको चासो नरहेको मण्डलको आरोप छ ।
गाउँपालिकाका अध्यक्ष अरूणकुमार मण्डलले आर्थिक कारोबारको अख्तियारी नभएकोले गाउँपालिकाको खाता सञ्चालनमा नरहदा समस्या भएको बताउनु भयो ।
स्थानीय धर्मदेव मण्डलले भने गाउँपालिकाले विभिन्न बैठकमा लाखौ रूपियाँ खर्च गरिरहे पनि १०-२० हजारको अत्यावश्यक औषधि किन्न बहाना बनाउनु दुःखद् भएको बताउनु भयो ।
गाउँपालिकाको आठ ओटै वडामा रहेको स्वास्थ्य केन्द्रमा दैनिक सयभन्दा बढी रुघाखोकी, ज्वरो र पखालाका बिरामी आउने गरेको स्वास्थ्य शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिनु भयो ।
औषधि अभाव स्विकार्दै मिश्रले आर्थिक कारोबार गर्ने अख्तियारी नपाएकाले टेण्डर गर्न नसकेर नयाँ आर्थिक वर्षदेखि औषधि खरिद गर्न नसकिएको बताउनु भयो ।
स्थानीय तह र कार्यालयको विकृति हटाउन लागु गरिएको पाम्स प्रणालीमा गाउँपालिकाले सम्पति र बजेट विवरण प्रविष्ट गरि नसकेकाले बजेटको अख्तियारी नपाइएको बताइएको छ ।
एक साताभित्रै पाम्स प्रणालीको टेबलमा प्रविष्ट गरेपछि आर्थिक कारोवारको अख्तियारी पाइने मिश्रले बताउनु भयो । टेण्डर प्रकृयामा समेत एक महिना समय लाग्ने भएकाले तत्काल अत्यावश्यक औषधि खरिद गरेर स्वास्थ्य चौकीहरूमा वितरण गर्नुपर्ने मिश्रले बताउनु भयो ।
जम्मा ३५ हजार जनसङ्ख्या रहेको गाउँपालिकाको वडा नम्बर १ को तिलाठी, वडा नम्बर २ को लौनिया, वडा नम्बर ३ को सकरपुरा, वडा नम्बर ४ को कोइलाडी र वडा नम्बर ५ को को.बर्साइनमा स्वास्थ्य चौकी रहेको छ ।
यस्तै वडा नम्बर ६ को कोइलाडी मधेपुरा र वडा नम्बर ७ को मन्सापुरमा आधारभूत स्वास्थ्य केन्द रहेको छ भने वडा नम्बर ८ को तोपामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ ।