INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकको हत्या गरेको कसुरमा सात जनालाई कैदको फैसला

खडक नगरपालिका–१० का १५ वर्षीय सागर सरदारको हत्या गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सात जनालाई भदौ १९ गते कैद सजाय र जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले सोही ठाउँका ४८ वर्षीय शिवनारायण साहलाई २० हजार रुपियाँ जरिबाना तथा २१ वर्षीय जितेन्द्र सरदार र १९ वर्षीय देवेन्द्र सरदारलाई जनही एक वर्ष कैद, १० हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने सजाय गरेको छ ।

यसैगरी १७ वर्षीय दुई बालकलाई चार महिना कैद र २ हजार रुपियाँ जरिबाना तथा १४ वर्षीय दुई बालकलाई एक/एक महिना कैदको फैसला भएको छ ।

आरोपितहरूले बगैँचामा खेल्ने क्रममा ०७६ मङ्सिर ८ गते हत्या गरी सागरको शव लुकाउन खोजेको भन्दै मृतककी दिदी मनिषा सरदारले मङ्सिर १३ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

हत्या घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले सातै जनालाई मङ्सिर १३ गते गिरफ्तार गरेको थियो ।

आरोपित शिवनारायणको बारीमा लगाएको गाँजा चोर्न प्रवेश गरेका बालकहरूमध्ये सागरको करेण्ट लागेर मृत्यु भएको गिरफ्तार सागरका अन्य साथीहरूले बताएका थिए ।

करेण्ट लागेर मृत्यु भएका सागरको शव ०७६ मङ्सिर ९ गते घटनास्थलभन्दा ५ सय मिटर पूर्व कालिचन साहको बगैँचामा फेला परेको थियो ।

घटना शङ्कास्पद भएपछि शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिर १० गते गरिएको थियो ।

जिल्ला अदालतमा ०७६ पुस १ गते अभियोजनपत्र दायर भएकोमा अदालतको ०७६ पुस ३ गतेको आदेश अनुसार शिवनारायण ५० हजार रुपियाँ, देवेन्द्र र जितेन्द्र जनही १५ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए । अन्य आरोपित चार बालकहरू संरक्षकको जिम्माजमानीमा रिहा भएका थिए ।

अन्य

भिडियो