पोखरा महानगरपालिका–१४ छिनेडाँडा राधाकृष्ण मार्गकी ४४ वर्षीया बिमला गुरुङलाई ४६ वर्षीय पति लोकबहादुर गुरुङले टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ज्ञानबहादुर खड्काका अनुसार घटनाको सूचना लगत्तै खटिएको प्रहरीको टोलीले खुकुरी प्रहारबाट घाइते बिमलालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा अस्पतालमा नै बिमलाको मृत्यु भएको हो ।
आरोपितले पत्नीलाई टाउकोमा खुकुरी प्रहार गरी आफैँलाई पेटमा खुकुरी प्रहार गरेर आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर खड्काले जानकारी दिुन भएको छ ।
केही समय अगाडि मात्रै वैदेशिक रोजगारबाट नेपाल फर्किएकी बिमला र बरोपितबिच भएको घरायसी विवादका कारण घटना भएको हुनसक्ने उहाँले बताउनु भयो ।
आरोपितको अवस्था समेत गम्भीर रहेकाले विस्तृत विवरण खुल्न नसकेको इन्स्पेक्टर खड्काको भनाइ छ ।
घाइते लोकबहादुरको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ । शवको पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको इन्स्पेक्टर खड्काले जानकारी दिनु भयो ।