शैक्षिक सत्र सुरू भएको चार महिना बिते पनि जिल्लामा अझै पाठ्यपुस्तकको अभाव कायमै छ ।
जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । आधारभूत तह र माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।
साँगुरीगढी गाउँपालिका–७ महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयका विद्यार्थीहरूले अझै नयाँ पुस्तक नपाएको गुनासो गरेका छन् ।
गोलखाडी माध्यमिक विद्यालयकी कक्षा आठमा अध्ययनरत १४ वर्षीया विनिता राईले भदौ १३ गतेसम्म पुरा सेट नयाँ पुस्तक नपाएको बताउनु भयो । ‘हामीले शैक्षिक सत्र सुरू हुँदा नै नयाँ पुस्तक पाउछौँ भन्ने सुनेको थिएँ । तर, हामीले अहिलेसम्म पुरा सेट पुस्तक पाएका छैनौँ ।’– राईले भन्नुभयो ।
कक्षा ९ मा अध्ययरत १५ वर्षीया सुदीक्षा राईले आफूसँग शिक्षा विषयको पुस्तक भदौको दोस्रो सातासम्म नभएको बताउनु भयो । उहाँले पुस्तक अभावले घरमा पढ्न र गृहकार्य गर्न समस्या भएको बताउनु भयो । गृहकार्य साथीको पुस्तक मागेर विद्यालयमै गर्नुपर्ने बाध्यता रहेको सुदीक्षाको भनाइ छ ।
गोलखाडी विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर राईले अभिभावक र विद्यार्थीले दैनिक आएर किताब खै भन्ने गरेको तर, निर्वाचनका कारणले जनक शिक्षा सामाग्रीले छपाइमा ढिलाइ गरेको खबर आएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक हरिलाल शाहले भदौ दोस्रो सातासम्म ७५ प्रतिशत विद्यार्थीले मात्रै नयाँ पुस्तकको सेट नै पाएको बताउनु भयो । उहाँले बाँकी विद्यार्थीले कुनै न कुनै विषयको पुस्तक नपाएको बताउनु भयो ।
कतिपय कक्षा पार गरेका विद्यार्थीबाट पुराना पुस्तक मागेर काम चलाइरहेको अवस्था रहेको प्रअ शाहको भनाइ छ ।
स्थानीय तहले दिने भुक्तानी दिइसकेको भएपनि जनक शिक्षाले पुस्तक वितरकलाई पाठ्यपुस्तक उपलब्ध नगराउँदा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव छ ।
यो शैक्षिक सत्रदेखि पाठ्यक्रम परिवर्तन भएको कक्षा ४, ६, ७ र ९ को पुस्तक पाउन समस्या भएको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् ।
सरकारले शैक्षिक गुणस्तर सुधारको बहस गरिरहेका बेला विद्यार्थीले पाठ्यपुस्तक समेत नपाउँदा सरकारप्रतिको अविश्वास झनै बढेको गोखखाडी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मध्वज राईले बताउनु भयो । ‘पाना च्यातिएको पाठ्यपुस्तक विद्यार्थीको हातमा छ । अनि कसरी शैक्षिक प्रगति गर्छन ?’– राईले भन्नुभयो,
‘शैक्षिक सत्र सुरू भएको चार महिना बित्दा पनि अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।’
शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाले पुस्तक अभावको गुनासो धेरै नै आएको जानकारी दिएको छ । जनक शिक्षा सामग्रीले समयमै पुस्तक नपठाएका कारणले समस्या भएको शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख मोहन राईले बताउनु भयो । पुस्तकको व्यवस्थापन मिलाउन शिक्षा विकासले समन्वय गरिरहेको राईको भनाइ छ ।
जिल्लाका १ सय ९० ओटा आधारभूत र ९४ ओटा माध्यमिक विद्यालयमा करिब ३५ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाले जनाएको छ ।
नेपालको संविधान २०७२ ले धारा ३१ मा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।