म्याग्दे गाउँपालिका–७ का ४० वर्षीय दिपकप्रसाद भण्डारी विभिन्न सेवा, सुविधा र अवसर पाउनु पर्ने माग गर्दै ०७९ भदौ ८ गतेदेखि म्याग्दे गाउँपालिकामा अनिश्चितकालिन धर्ना बस्नु भएको छ ।
सवारी दुर्घटनामा परी अपाङ्गता हुनु भएका भण्डारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ अनुसारको सेवा, सुविधा र अवसर पाउनु पर्ने मागसहित धर्नामा बस्नु भएको हो ।
उहाँको माग एकजना व्यक्तिगत सहयोगी पाउनु पर्ने रहेको छ । दुर्घटनामा ढाड भाँचिएपछि सहयोगी बिना उठ्न, बस्न तथा हिँडडुल गर्न नसक्ने भएपछि एक जना सहयोगीको व्यवस्था गरिनुपर्ने आफ्नो माग रहेको भण्डारीले बताउनु भयो ।
स्थानीय तहमा पटकपटक आग्रह गर्दा पनि आफ्ना माग बारे कुनै सुनुवाइ नभएको कारण गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन धर्नामा बसेको उहाँले बताउनु भयो ।
उहाँले सबै अपाङ्गता भएका वर्गको अधिकार प्राप्तिको लागि आफू धर्नामा बसेको समेत बताउनु भयो ।
अपाङ्गता अधिकारकर्मी मदन पौडेलले भण्डारीले राज्यको कानुन अनुसार नै मागहरू पेश गर्नु भएको भन्दै स्थानीय सरकारले ति मागहरू सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सबै पक्षसँग छलफल गरी राज्यको कानुन अनुसार गर्न सकिने माग पुरा गरिने बताउनु भयो ।