बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्कमा रहेको सिद्धेश्वरी माविका दुई शिक्षक र १८ विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको स्वास्थ्य संस्थाले भदौ ८ गते गरेको परीक्षणमा २० जनालाई सङ्क्रमण पुष्टि देखिएपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षक चित्र बहादुर वलीले जानकारी दिनुभयो ।
केही दिनअघिदेखि विद्यालयका ५० भन्दा बढी विद्यार्थीलाई ज्वरो, रुघाखोकी, पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने र कतिपय बेहोस हुने समस्या देखिएपछि परीक्षण गरिएको उहाँले बताउनुभयो ।
शिक्षक र विद्यार्थी धेरैलाई सङ्क्रमण देखिएपछि नगरपालिकालगायत सबैको सल्लाहअनुसार भदौ ९ गते देखि भदौ १६ गतेसम्म एक हप्ताका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कोरोना परीक्षण गरिसकेपछि अहिले सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । बालबालिकालाई बाहिर ननिस्कन र स्वास्थ्यकर्मीको सल्लाह लिइरहन अभिभावकलाई सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।
बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले बिरामी भएका र उनीहरूको सम्पर्कमा रहेका ९९ जनाको परीक्षण गर्दा एक महिला शिक्षक र १८ विद्यार्थीलाई कोरोना पोजिटिभ देखिएको बताउनुभयो । अर्का एक शिक्षकलाई केही दिनअघि नै परीक्षण गराउँदा पोजिटिभ देखिएको उहाँले बताउनुभयो ।
‘विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयले आग्रह गरेपछि हामी कोरोना परीक्षणका लागि आएका थियौं । विद्यालयका शिक्षक विद्यार्थी लगायत बिरामी परेका विद्यार्थीका अभिभावकको पनि परीक्षण गर्ने कार्यक्रम थियो, उहाँले भन्नुभयो, ‘अभिभावक सबैलाई बोलाएका थियौं, आउन मानेनन् ।
विद्यालयले ५० जनाभन्दा धेरैलाई बढी समस्या देखिएको भनेर सय थान किट ल्याएकाले सबैको परीक्षण गर्न नसकिएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष लालबहादुर घर्तीले वडाका विभिन्न स्थानमा अन्यमा पनि ज्वरोलगायत विभिन्न किसिमका समस्या देखिएकाले अन्यलाई पनि परीक्षणको व्यवस्था मिलाउने बताएका छन् । रोगबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन सजगता अपनाउन र बाहिर जान परे अनिवार्य मास्क प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
जिल्लाका अन्य विद्यालयका बालबालिका पनि ज्वरोका कारण बिरामी परिरहेका छन, तर पनि अहिलेसम्म सम्बन्धित निकायले कोरोना परीक्षण र स्वास्थ्य मापदण्ड पालनाबारे कुनै सचेतनामूलक कार्यक्रम नगरेको अभिभावकहरूको गुनासो रहेको छ ।