INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल बन्दको प्रभाव बागमती प्रदेशमा सामान्य

नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा माओवादीलगायत चार राजनीतिक दलले ०७९ भदौ ७ गते गरेको बन्दको प्रभाव बागमती प्रदेशका जिल्लाहरूमा सामान्य रूपमा परेको छ ।

नेपाल बन्दले यस प्रदेशका सबै जिल्लाका विद्यालयको पठनपाटन ठप्प भएको छ । जसले बन्दको प्रभाव सबै भन्दा बढी विद्यालय जाने उमेरका बालबालिकाहरूमा परेको छ ।

बन्दलेको असरले विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा अवरोध भएको छ ।

साथै बन्दकै प्रभावले नियमित रूपमा सञ्चालन हुने यातायातका साधन नचल्दा व्यापार-व्यवसाय, उद्योग, कल-कारखाना सञ्चालनमा आउन सकेनन् भने सवारी साधन सञ्चालनमा नआउँदा गन्तव्यमा हिँडेका सर्वसाधरणलाई अवरोध पुगेको छ ।

शिक्षण संस्थाहरू सञ्चालनमा आउन नसक्दा विद्यार्थीहरूको पठन पाठनमा अवरोध भएको छ ।

नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा माओवादीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन २१ गते विप्लव नेतृत्वको नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेर आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको विरोधमा नेपाल बन्दको आवह्वान गरेको थियो ।

यसैबीच बन्द गराउँदै हिँडेका नेकपाका कार्यककर्ताले काभ्रेको बनेपामा सवारीसाधनमा अपरोध पुर्‍याउँदा बसका बसका कर्मचारी तथा स्थानीयले उनीहरूलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई कुटपिट गरेका हुन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोजेको आरोपमा कालिकोट घर भएका २४ वर्षीय पल राउतमाथि कुटिपट भएको हो ।

सो घटनापछि प्रहरीले ६ जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनु भएको छ ।

इन्सेक काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार बन्दकर्ताले काठमाडौँमा दुई ओटा सार्वजनिक बस, एक हायस र एक कलेजमा तोडफोड गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आवह्रान गरेका थिए ।

काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार बिहानै बन्दकर्ताको समूहले कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस, बा ३ ख ७९०६ नम्बरको हायस र थापागाउँमा नेपाल यातायातको बा ४ ख ९०१९ नम्बरको बस तोडफोड गरेका हुन् ।

त्यस्तै बिहानै मोटरसाइकलमा आएको चार जनाको समुहले डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड गरेको एसपी मैनालीले जानकारी दिनुभयो । उक्त समूहको ढुङ्गा प्रहारबाट कलेजको सिसा फुटेर क्षति पुगेको छ ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई गिरफ्तार छ ।

गिरफ्तारीमा पर्नेहरूमा कैलालीकी २८ वर्षीया तारा संजेल, काठमाडौँकी २२ वर्षीया यसोदा बम, अछामका २३ वर्षीय ललित बिके, कालिकोटका २५ वर्षीय दयाराम लुहार, बाँकेका ३० वर्षीय प्रकाश कठायत, जुम्लाकी २१ वर्षीया रुपा शाही, चितवनका २४ वर्षीय सुदिप पौडेल, नुवाकोटकी २५ वर्षीया अनु गुरुङ, स्याङजाका २७ वर्षीय सुर्य खनाल रहेका छन् ।

यसैगरी सुर्खेतका १७ वर्षीय चन्द्र सेजुवाल, काठमाडौँका २४ वर्षीय रुजित अर्याल, कन्चनपुरका २८ वर्षीय रञ्जन बहादुर सिंह, दाङका २२ वर्षीय टार्जन वली, कन्चनपुरका २५ वर्षीय भरत बिश्वकर्मा, काठमाडौँका २८ वर्षीय ललिजंग बम, सुर्खेतका २६ वर्षीय तुलाराज तिरुवा, अछामका २७ वर्षीय निगम भण्डारी रहेका थिए ।

गिरफ्तारीमा गरिएका उनीहरूलाई प्रहरीले प्रहरी वृत्त महाराजगंज, नगर प्रहरी कार्यालय भृकुटीमण्डप, प्रहरी वृत्त दरबारमार्गमा दिनभर राखेर बेलुकी ६ गते छाडेको एसपी मैनालीले जानकारी दिनुभयो ।

यसैगरी इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लामा नेपाल बन्दको प्रभाव सामान्य रह्यो । निर्वाध रूपमा सवारीसाधन चल्न नसके पनि प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको सहयोगमा लामो दूरीका सवारी साधन तथा ढुवानीका सवारीसाधन सहजै चलेको थियो । छोटो दुरीका सवारीसाधन भने चल्न सकेनन् ।

सडकमा सवारीसाधन चल्न रोक लगाएको भन्दै प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ । भरतपुर महानगरपालिका–२३ का ३५ वर्षीय अमित घिसिङ, भरतपुर महानगरपालिका– ७ का ३२ वर्षीय सुरज शर्मा, सोही स्थानका २४ वर्षीय सुदीप पौडेल, भरतपुर महानगरपालिका–२, क्षेत्रपुरका ३९ वर्षीय गणेश श्रेष्ठ, कपिलवस्तु घर भई भरतपुर महानगरपालिका–११ बस्ने २७ वर्षीय महेश चौधरी, सोही ठाउँ बस्ने वर्ष ३५ वर्षीय अर्जुन पन्त र बारा घर भई हाल भरतपुर महानगरपालिका–९ का २१ का राजनबाबु सिंहलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार बन्दको जिल्लामा आशिंक प्रभाव देखिएको छ । विहानैदेखि नीजि सवारी साधनहरू सञ्चालनमै छन् भने सार्वजनिक यातायात बन्द छन् । विद्यालयहरू बन्द भए पनि बजार पसल खुलेका छन् । नेपाल कम्युनिस्ट पार्टी धादिङले नेपाल बन्दको पूर्वसन्ध्यामा भदै ६ गते साँझ मसाल जुलुस निकालेको थियो । बन्दकर्ताले राजधानी काठमाडौँ छिर्ने मुख्य पृथ्वी राजमार्ग स्थित धार्के बजारमा मसाल जुलुस निकालेर बजार परिक्रमा गरी कोणसभा गरेका थिए ।

अन्य

भिडियो