पुतलीबजार कारागारमा भौतिक पुर्वाधारको अभाव हुँदा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाइ भोग्नु परेको जेल प्रशासनले जनाएको छ ।
कारागारको क्षमता ३५ जना पुरुष र १५ जना महिलाको भएपनि दुई जना महिलासहित १ सय ४२ जना कैदीबन्दी राख्नु परेको जेलर चुडामणि भण्डारीले जानकारी दिनु भयो ।
३५ जानका लागि निर्मित भवनमा १ सय ४० जना बस्नुपर्दा अनेकौ समस्या भोग्नु परेको चौकिदार ख्यामनारायण पौडेल बताउनु हुन्छ ।
उहाँका अनुसार ६ ओटा शौचालय रहेका छन् । शौचालय कम भएकाले पालो कुरेर बस्नु पर्दछ ।
कारागार भित्रको सुविधाका लागि भनेर २०७७ सालमा वायो ग्याँस प्लाण्ट निर्माण कार्यको थालनी भएको थियो ।
तर, त्यसको कार्यले पुर्णता नपाउँदा सो स्थानमा पानी जमेर लामखुट्टेको गोलो बढेको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले पनि चासो नदेखाएको असई मिनबहादुर खत्रीको गुनासो छ ।
नेपाल सरकारका तर्फबाट प्रतिव्यक्ति दैनिक ७ सय ग्राम चामल र दैनिक ६० रुपियाँ दिने गरेको छ । हालको महङ्गीले गर्दा सो सुविधाले खर्च नधान्ने हुँदा घरबाट खर्च मगाएर दैनिकी चलाउनु परेको जेलका चौकीदार ख्यामनारायण पौडेलको भनाइ छ ।