INSEC Online

📅 २०८३ जेष्ठ २१

भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ ।

४९ वर्षीय भिम बहादुर रावत, उनकी पत्नी ४० वर्षीया दिपा रावत र छिमेकी ३२ वर्षीय भिम बहादुर रावतलाई साउन ३० गते एसिड प्रहार गरेको भन्ने सुचनाको आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

घरायसी लेनदेनको विषयमा विवाद हुँदा मदिरा सेवन गरेका आरोपितले आफु माथि एसिड प्रहार गरेको पीडित पक्षले बताएको छ ।
बाँकेको एभरेस्ट लिसा कम्पनीले सल्लाको खोटो निकाल्नका लागि दिएको एसिड आरोपित रावतले मदिरा सेवन गरी भाई–बुहारीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ ।

आफ्नो पसलमा बसीरहेको समयमा आरोपितले एक्कासी एसिड प्रहार गरेपछि छेउमै बसेका छिमेकी भीमबहादुरको पनि एसिडले हात र अनुहारमा लागेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

एसिडले तीनै जनाको अनुहार र हात आंशिक जलेको डीएसपी खड्काले बताउनुभयो । घाइते सबैको श्रीनगरस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कृर्तिपुर सामुदायिक अस्पताल, काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको परिवारले जनाएको प्रहरीले बताएको छ ।

एसिड प्रहार गर्ने बेचेलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपितको घरबाट २० लिटरभन्दा बढी एसिड बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो