वीरेन्द्रनगर नगरपालिका–२ की घरेलु हिंसा पीडित २६ वर्षीया तुलसी गिरी (पुरी) लाई कानुनी प्रकृयामा लैजान ०७९ साउन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ ।
इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले कानुनी प्रक्रियामा जानका लागि घरलु हिंसा पीडित गिरीलाई नगद ५ हजार रुपियाँ सहयोग प्रदान गर्नु भएको हो ।
नगद सहयोग प्रदान गर्दै संयोजक सुवेदीले आर्थिक अवस्था कमजोर भएका कारण कतिपय पीडित कानुनी प्रकृयामा जान सकेका छैनन । त्यस्ता पीडितलाई कानुनी प्रक्रियामा जान सहयोग पुर्याउने उदेश्यले इन्सेकले सहयोग गर्दै आएको बताउनु भयो ।
पीडितलाई कानुनी प्रकृयामा जानका लागि लाग्न सक्ने सामान्य खर्च निवेदन दर्ता शुल्क, फोटोकपी, रिक्सा भाडा, खाजा तथा खाना लगायतमा आवश्यक खर्च जुटाउन सहयोग पुर्याउने उद्देश्यले पीडितलाई सहयोग गरिएको संयोजक सुवेदीले बताउनु भयो ।
इन्सेकद्धारा गठित मानव अधिकार सहायता कक्षको ०७९ साउन २० गते बसेको बैठकले घरेलु हिंसा पीडित गिरीसहित जुम्ला चन्दननाथ नपाकी पिंकी सुनार र रुकुम पश्चिम चौरजहारी नपाकी मेनुका वलीलाई कानुनी प्रक्रियामा जाँदा लाग्ने खर्चका लागि प्रतिव्यक्ति पाँच हजार रुपियाँ नगद सहयोग गर्ने निर्णय गरेको थियो ।
घरेलु हिंसा पीडित गिरीले ७७ वर्षीय ससुरा धर्मराज पुरी, ५४ वर्षीय जेठाजु किरण पुरी र ४७ वर्षीया नन्द शान्ता सिंहको बिरुद्ध जिल्ला अदालत सुर्खेतमा साउन १५ गते घरेलु हिंसामा मुद्दा दायर गर्नु भएको छ ।
गिरीले दायर गरेको मुद्दामा ०७९ वैशाख २ गते पति दिनेश पुरीको मृत्युपछि घरपरिवारले संगोलमा क्रिया गर्न नदिई बाख्राको खोरमा बसी क्रिया गर्न बाध्य बनाएकोे, बरखी बार्नबाट बञ्चित गरेको र शुद्ध भएकै दिन चार वर्षीय छोरा सक्षम पुरीसहित आफुलाई घरबाट निकाला गरेकोे उल्लेख छ । पीडित हाल माइतमा बस्दै आउनु भएको छ ।