मुगुम कार्मारोङ गाँउपालिकाको डोल्पु र मुगुम स्वास्थ्य चौकीमा डेढ महिनादेखि डिकोल्ड, सिटामोल र बालबालिकाले प्रयोग गर्ने झोल (सिरप) लगायतका औषधि अभाव हुँदा त्यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन ।
मुगुम कार्मारोङ गाँउपालिका–१ डोल्पु र सोही गाँउपालिका–२ मुगुम गाँउमा रहेको स्वास्थ्य संस्थामा ०७९ असार ५ गतेदेखि गाँउपालिकामा माग गरिएको औषधि आपूर्ति नहुँदा दुई स्वास्थ्य चौकीमा डेढ महिनादेखि सेवा लिन आउने सेवाग्राही मर्कामा परेका हुन ।
चार वर्षीया छोरीलाई साउन १८ गतेदेखि रुघाखोकी लागेपछि गाँउ नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न पुग्दा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले मौसमी रुघाखोकी भएको जानकारी दिएको भएपनि बालबालिकाका लागि प्रयोग हुने झोल औषधी नभएको र डेढ दिन टाढाकोपुलुमा जान सल्लाह दिएको मुगुम कार्मारोङ गाँउपालिका–१ का ४५ वर्षीया पेमा छिरिङ लामाले बताउनु भयो ।
सोही गाउँपालिका–२ मुगुम गाँउमा बालबालिका र बृद्धबद्धालाई टाउको दुख्ने र पातलो सिगान बग्ने समस्या देखिन थालेको तीन हप्ता भयो । स्वास्थ्य चौकीमा चेक गर्न गएपनि स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा रित्तै हात फर्कन परेको सोही वडाका ४८ वर्षीया च्यावा तामङ्गले बताउनु भयो ।
स्वास्थ्य चौकीमा असार ५ गतेबाट औषधि अभाव भएको र अभाव भएका औषधि आपूर्तिकालागि गाउँपालिकाको स्वास्थ्य शाखामा माग फारम पठाइएको भएपनि हालसम्म औषधि आपूर्ति हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन ।
स्वास्थ्य संस्थामा प्रतिदिन ५ देखि १० जनासम्म रुघाखोकीका बिरामी आउने गर्छन । बालबालिकाका लागि आवश्यक झोल औषधी स्वास्थ्य संस्थामा छैन । उनीहरू सबैलाई पुलुमा रहेको सामुदायिक अस्पतालमा जान सल्लाह दिने गरेको डोल्पु स्वास्थ्य चौकीका इन्चार्ज सर्पराज भामले बताउनु भयो । मुगु स्वास्थ्य चौकीका इन्चार्ज वीरजङ्ग मल्लले दिनु भएको जानकारी अनुसार मुगुम स्वास्थ्य चौकीमा पनि बालबालिकाका लागि रुघा खोकीकोलागि चाहिने झोल औषधि अभाव रहेको र उक्त औषधि आपूर्तिकालागि गाँउपालिकामा माग गरिएको भएपनि हालसम्म उपलब्ध भएको छैन ।
औषधि अभाव भएको र शाखामा माग फारम पुगेको भएपनि अहिले स्टोरमा उक्त औषधि नभएकाले तत्काल खरिद गर्नकालागि आवश्यक प्रक्रिया अगाडी बढिसकेको छ । केही दिनमै आवश्यक सबै औषधि स्वास्थ्य चौकीमा पठाइने मुगुम कार्मारोङ गाँउपालिका जनस्वास्थ्य निरीक्षक बलीबहादुर बुढाले जानकारी दिनु भएको छ ।