INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्गमका महिलाको पीडा बाटोमै सुत्केरी, पाँच घण्टाको पैदल हिँडेर स्वास्थ्य संस्था पुग्नु पर्ने बाध्यता

पाएक पर्ने स्थानमा स्वास्थ्य चौकी नहुनु, भौगोलिक विकटता, प्रसुति गृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्था लगायतका कारण जिल्लाको ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुन बाध्य भएका छन ।

बारेकोट गाउँपालिका–६ मुल्सामकी २१ वर्षीया मिना नेपालीलाई ०७९ साउन १६ गते सुत्केरी ब्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजाने क्रममा उनी बाटोमा सुत्केरी भइन । उनको पहिलो सन्तानका रुपमा छोरा जन्मिएको छ ।

वर्षातको बाटो, सामान्य मानिसलाई हिडेर लिम्सा पुग्न करिब चार घण्टा लाग्छ । साउने झरीमा सुत्केरीलाई स्ट्रेचरमा बोकेर त्यति टाढाको बर्थिङ सेन्टरमा पुर्‍याउन कम्ती कठिन थिएन । तैपनि मिनालाई स्वास्थ्य संस्था पु¥याउनु पर्ने बाध्यता थियो । उनले स्वास्थ्य संस्था नपुग्दै बाटोमै बच्चा जन्माइन ।

बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने मिना एक्ली होइनन् । बारेकोटमा प्रत्येक महिना यस्ता घटना बाहिर आउँछन्, जसले बारेकोट गाउँपालिकाले सुरक्षित सुत्केरी गराएको भन्दै रिपोर्टमा एक नम्बर रहेको भएपनि समग्र पालिकाको स्वास्थ्य अवस्था कमजोर रहेको मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताउनु भयो ।

बारेकोटका आमाहरूका लागि प्रसूति गृह नहुनु मात्रै दुर्भाग्य होइन, यातायात सुविधा नहुनु प्रमुख समस्या हो । कतिपय ठाउँमा सडक सुविधा पुगेको छैन,’ बारेकोटको मुल्सामका मान बहादुर चलाउने भन्नु हुन्छ, ‘स्वास्थ्य संस्थासम्म पुग्न सडक छैन कतै सडक भए पनि एम्बुलेन्सको सुविधा हुँदैन, यसले गर्दा यहाँका महिला असुरक्षित ढङ्गले बाटोमै सुत्केरी हुन्छन ।’

बाटोमै सुत्केरी भएपनि स्वास्थ चौकी पुगेर नाम टिपाउने र यातायात खर्च लिने गरेकाले बाटोमा सुत्केरी भएको तथ्याङ्क स्वास्थ्य संस्थामा राखिएको भेटिँदैन ।

मुल्साम गाउँको नजिकमा अस्पताल वा स्वास्थ्य संस्था छैनन । सबै भन्दा नजिक लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । त्यस ठाउँसम्म पैदल पाँच घण्टा लाग्दछ । उक्त ठाउँमा सडक तथा यातायातको सुविधा छैन ।

यो वर्ष भित्रै बारेकोटको मुल्साममा वर्थिङ्ग सेन्टर बन्छः अध्यक्ष गिरी
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले यस आर्थिक वर्ष भित्रै मुल्साममा बर्थिङ्ग सेन्टर बन्ने बताउनु भएको छ । इन्सेक जिल्ला प्रतिनिधिसँग कुराकानी गर्दै यो आर्थिक वर्षमा मुल्साममा बर्थिङ्ग सेन्टर बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँले भन्नु भयो, ‘मुल्सामका महिलाहरूको पीडाले मेरो गम्भीर ध्यानाकर्षण भएको छ, यस आर्थिक वर्षमा त्यहाँका महिलाहरूलाई सुरक्षित सुत्केरी गराउन मिल्ने बर्थिङ्ग सेन्टर बनाउँछौं ।’ गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत बर्थिङ्ग सेन्टर समेटिएको अध्यक्ष गिरीले बताउनु भयो ।

अघिल्लो स्थानीय सरकारले मुल्सामवासीलाई उपेक्षा गरेको स्थानीयको आरोप छ । सडक सञ्जालले नछोएको मुल्साममा सुरक्षित सुत्केरी गराउन अहिले करिव पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

अन्य

भिडियो