बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ ।
३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।
अहिले कारागारमा विभिन्न १९ प्रकृतिका कसुरमा ४३ जना कैदी र ५९ जना थुनुवा (बन्दी) रहेका जेलर ताराबहादुर तामाङले जानकारी दिनुभएको छ ।
३९ जना पुरुष र चार जना महिला गरी ४३ जना कैदी र ५७ जना पुरुष र दुई जना महिला गरी ५९ जना थुनुवा रहेका छन् ।
०२८ सालमा निर्माण गरिएको उक्त कारागार भवन २०७२ सालको भूकम्पले क्षति पु¥याएको छ ।
साँघुरो ठाउँ त्यसमा पनि भूकम्पले जीर्ण भएको भवन भएका कारण वर्षाको समयमा भवन नै भत्केर दुर्घटना हुने जोखिम रहेको जेलर तामाङले बताउनु भयो ।
ठूलो र अग्लो पर्खालले घेरिएको ठाउँ, भित्र स–साना अँध्यारा कोठाहरू अनि कोठामा अटाइ–नअटाइ खाटहरू, खाटमुनि पनि प्लाष्टिकका म्याट बिच्छ्याएर ओछ्यान लगाइएको छ ।
जाडोमा त जसोतसो समायोजन हुन्छ तर गर्मीमा मान्छेमान्छेको तापले सुत्नै नसकिने सास्ती त छँदै छ त्यसमाथि पनि उडुसको टोकाइले रातभर सुत्न नपाइने सडक दुर्घटनासम्बन्धी सजाय भोगिरहेका मनोज मरहठ्ठाले बताउनु भयो ।
१ सयभन्दा बढीका लागि कारागारमा तीन ओटा मात्रै शौचालय रहेका छन् । जसले गर्दा बिहान सबेरैदेखि लाइन बस्नु पर्ने बाध्यता त छँदैछ त्यसमा पनि शौचालयबाट निस्कने दुर्गन्ध सुत्ने ठाउँसम्म फैलन्छ ।
त्यस्तै दुई ओटा मात्र स्नान कक्ष भएका कारण सरसफाईमा पनि उतिकै समस्या रहेको छ ।

