छथर गाउँपालिका–५ ओख्रेका ५३ वर्षीय बाबु भक्तबहादुर भण्डारीलाई साउन १७ गते फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय छोरा टङ्क भण्डारीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।
घरायसी बिवादका क्रममा बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा छोराविरूद्ध साउन १८ गते छथर प्रहरी चौकीमा उजुरी दिएको आरोपितकी ५० वर्षीया आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
आरोपितविरूद्ध पीडित पक्षले साउन १८ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको छथर प्रहरी चौकीका सइ रामबहादुर प्रधानले बताउनु भयो ।
फलामको मुस्ली प्रहार गरी बुबाको हत्या गरेपछि घटनामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहारी कार्यालयका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम साउन १८ गते धनकुटा अस्पतालमा गरिएको छ ।
सोही दिन पीडित पक्षले शव बुझी धनकुटा नगरपालिका–९ स्थित मुलघाटमा सद्गत गरेको छ ।