काठमाडौँको माहानगरपालिका–१० स्थित चक्रवर्ती हाबी ल कलेजमा शिक्षण शुल्क बढाएको बिरोधमा भएको प्रदर्शनमा सहभागी तीन जना विद्यार्थी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् ।
पाँच वर्षे एलएलबीको शैक्षिक शुल्क बढाएको भन्दै विरोध प्रदर्शनमा संलग्न विद्यार्थीमाथि ०७९ साउन १० गते प्रहरीले लाठी प्रहर गर्दा चक्रवर्ती हाबी ल कलेजका तीन जना विद्यार्थी घाइते भएका हुन् ।
प्रहरीको लाठी प्रहारबाट घाइते हुने विद्यार्थीहरूमा बाजुराका २३ वर्षीय दीर्घ रोकाया , काठमाडौँका २४ वर्षीय अभिनव सिंह राठोर र गोरखाका २३ वर्षीय शम्भु पन्त रहेका छन् ।
घाइतेहरूको शरीरका बिभिन्न भागमा चोट लागेको र नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गरिएको सोही कलेजका विद्यार्थी सहुल कुमार झाले बताउनु भयो ।
चक्रवर्ती हाबी ल कलेजले एक सूचना प्रकाशन गरी यस शैक्षिक सत्रबाट पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रूपैयाँबाट एकैपटक १० लाख ७० हजार पु¥याएको थियो ।
कलेजले एकैपटक भारी मात्रामा शुल्क वृद्धि गरेपछि विद्यार्थी सङ्गठनहरूले शुल्क वृद्धिको बिरोधमा साउन ८ गते कलेजको लेखा शाखामा तालाबन्दी गरेका थिए ।
विद्यार्थीले लगाएको तालाबन्दी कलेज प्रशासनले प्रहरी बोलाएर तोडेपछि आज विद्यार्थीहरूले कलेज प्राङ्गणमै प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।
त्यस्तै प्रहरीले कजेजमा आन्दोलन गर्दै तोडफोडमा उत्रिएको भन्दै तीन जना विद्यार्थीहरूलाई गिरफ्तार समेत गरेको छ ।
प्रहरी गिरफ्तारीमा पर्ने विद्यार्थीहरूमा बझाङका २२ वर्षीय नरेश धामी र ३० वर्षीय राजेन्द्र रोकाया तथा चितवनका २३ वर्षीय सुरज रेग्मी रहेका छन् ।
गिरफ्तारीमा परेका विद्यार्थीहरूलाई प्रहरी वृत्त तीनकुनेमा राखिएकोमा साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो। ।
