एक वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका—६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह र विराटनगर महानगरपालिका–५ कारखाना टोलकी २७ वर्षीया अनु साहलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
रविन्द्र साहलाई बुढीगङ्गा गाउँपालिका–१ मा उनले सञ्चालन गरेको श्रीराम ट्रेडर्सबाट र अनु साहलाई बच्चासहित भारतको दरभङ्गाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताउनु भयो ।
एसपी कोइरालाका अनुसार बुढीगङ्गा गाउँपालिका –१ का दीपेन यादवकी एक वर्षीया छोरी निकिशा यादवलाई विराटनगरस्थित रोडशेष चोकबाट साउन २ गते अपहरण गरी भारतको दरभङ्गा लगेका थिए ।
भारतको दरभङ्गाबाट बालिकालाई सकुशल उद्दार गरेको एसपी कोइरालाले बताउनु भएको छ ।
बालिका अपहरण गर्नुको मुख्य कारण फिरौती रकम रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
‘पैसा माग्नका लागि बालिकाको अपहरण गरेको देखियो एसपी कोइरालाले भन्नु भयो । प्रारम्भिक अनुसन्धानका क्रममा १० देखि १५ लाख रुपियाँ रकम असुल्ने उद्देश्यले बालिका अपरण गरेको देखिएको एसपी कोइरालाको भनाइ छ ।