प्रदेश १ मा कोभिड–१९ विरूद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा र अष्ट्राजेनिका खोपको ५० हजार मात्रा गरी ६१ हजार खोपको मात्रा खेर गएको प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।
प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रलाई असार अन्तिममा खोप आएकाले प्रयोग हुन नसक्दा खोप खेगर गएको हो ।
आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले छोटो अवधिको खोप भएकाले प्रयोग हुन नसकेको कारण खोप खेर गएको बताउनु भयो ।
साहले भन्नुभयो ‘प्रदेश १ का कुनै जिल्लाबाट पनि खोपको माग आएन । खोपको म्याद सकिन पनि १५ दिन बाँकी थियो । त्यसैले ठूलो मात्रामा कोभिड–१९ विरूद्धको खोप खेर गएको हो,’ । साहका अनुसार जिल्लाहरूले खोप खपत नहुने भन्दै माग नगरेपछि खोप केन्द्रमै थन्किएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार अन्तिममा प्रदेश १ का लागि १२ हजार डोज कोभिशिल्ड खोप पठाएको थियो ।
१ हजार डोज मोरङमा प्रयोग भएको केन्द्रका प्रमुख साहले बताउनु भयो । यसअघि खोप प्रयोग हुन नसक्दा अष्ट्राजेनिकाको ५० हजार मात्रा खेर गएको थियो ।
प्रदेश १ मा ६१ हजार मात्रा कोभिड–१९ विरूद्धको खोप खेर गएको छ ।
प्रदेश १ मा ७९ प्रतिशतले कोभिड–१९ विरूद्धको पूर्णमात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
४९ लाख ८२ हजार २ सय ४९ जना लक्षित जनसङ्ख्या मध्ये ७९ प्रतिशतले खोप लगाएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।
१२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर खोप लगाएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश १ मा कोभिड–१९ विरूद्ध ६ प्रकारका खोप लगाइएको छ । कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनिका, फाईजर र मोर्डनाको खोप दिइएको छ ।
कोभिशिल्डको पहिलो मात्रा ४ लाख ४० हजार ८ सय २१, दोस्रो मात्रा ४ लाख ७१ हजार ५ सय ४२ र बुस्टर ३ लाख ७९ हजार ८ सय ९८, भेरोसेल पहिलो मात्रा १७ लाख ४४ हजार ८ सय ७०, दोस्रो मात्रा १३ लाख ५९ हजार ८ सय ७१ र बुस्टर ४९ हजार ५ सय ९६, जोन्सन एण्ड जोन्सन (एक मात्र मात्रा) ५ लाख ७५ हजार ६० र बुस्टर ७ लाख ४८ हजार ७३२, अष्ट्राजेनिकाको पहिलो मात्रा ४ लाख २८ हजार १ सय ४२, दोस्रो ३ लाख ४० हजार ९ सय ३६ र बुस्टर ३ लाख ४४ हजार १ सय ३० जनाले लगाएको प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार फाईजरको पहिलो मात्रा १ लाख ४६ हजार ८ सय ८८, दोस्रो मात्रा ७२ हजार २८ र बुस्टर ९१ हजार २ सय ६९, मोर्डनाको पहिलो मात्रा ५ लाख ४१ हजार ६ सय ७६, दोस्रो मात्रा ४ लाख ७२ हजार ४ सय १ र बुस्टर ५ लाख १ हजार ७६ जनाले लगाएका छन् ।
समग्रमा प्रदेश १ मा ३३ लाख ३२ हजार ३ सय ९७ ले पहिलो मात्रा, ३२ लाख ६७ हजार ३८ ले दोस्रो मात्रा र १४ लाख ३० हजार ७ सय १ जनाले बुस्टर खोप लगाएको प्रदेश १ स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनु भएको छ ।
साहका अनुसार प्रदेश १ मा साउन ७ गतेसम्म ७१ लाख ५७ हजार ४ सय ३९ मात्रा खोप आएको छ । कतिपयले पहिलो मात्रा अन्यत्र लगाएर दोस्रो तथा बुस्टर प्रदेश १ मा लगाएका कारण केही खोपमा पहिलो मात्राको तुलनामा दोस्रो तथा बुस्टर मात्रा बढी पनि देखिएको साहले बताउनु भएको छ ।
प्रदेश १ का १० जिल्लामा भेरोसेल, जोनसन र फाईजर खोपको मौज्दात छ । ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड–१९ विरूद्धको खोप मौज्दात नरहेको प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन निरीक्षक राजेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
श्रेष्ठका अनुसार सङ्खुवासभामा भेरोसेल ३ हजार १ सय डोज, सोलुखुम्बुमा भेरोसेल ५० र जोनसन २ सय ५०, खोटाङमा भेरोसेल ५ सय र जोनसन २ सय ५०, भोजपुरमा भेरोसेल ७०, जोनसन १५ हजार, तेहृथुममा भेरोसेल तीन सय, जोनसन ४ सय, पाँचथरमा भेरोसेल १ हजार ८ सय, जोनसन २ हजार ४ सय ८०, इलाममा जोनसन २ हजार ५सय, झापामा भेरोसेल १ हजार २ सय, जोनसन २६ हजार ६ सय, फाईजर १ लाख २५ हजार २ सय, सुनसरीमा भेरोसेल १ सय, जोनसन ३ हजार, फाईजर १ लाख १८ हजार र उदयपुरमा जोनसन २ हजार ३ सय ८५ डोज मौज्दात छ ।
प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रमा फाईजरको १ लाख ७४ हजार ८ सय मात्रा मौज्दात रहेको कोल्ड चेन निरीक्षक श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार म्याद सकिएको कोभिशिल्डको ११ हजार मात्रा पनि छ । प्रदेशभर ४ लाख १८ हजार डोज खोप बाँकी रहेको छ । अहिले दैनिक औसतमा २ हजार ८ सय ५० जनालाई खोप लगाउने गरिएको निरीक्षक श्रेष्ठको भनाइ छ ।
कोभिड–१९ विरूद्धको खोपका समुदायस्तरमा सञ्चालन गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयले तयारी गरेको छ । खोप केन्द्रमा खोपका लागि सर्वसाधारण आउन छाडेपछि समुदायस्तरमा नै अभियान चलाउने तयारी गरिएको निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनु भएको छ । खोप नै खेर जान थालेपछि घर–घर पुग्ने गरी अभियान चलाउनु पर्ने देखिएको निर्देशक ज्ञानबहादुर बस्नेतको भनाइ छ ।
प्रदेश १ मा ‘५–११ वर्ष उमेर समूहका बालबालिकालाई अहिले विद्यालयमा खोप लगाउने कार्यक्रम जारी छ ।