गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सृजना ईंट्टा उद्योगमा काम गर्दै आएका २२ जना मजदुरहरुले झण्डै एक वर्षदेखि पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन् ।
०७८ असोज महिनादेखि ईटा भट्टामा काम गर्दै आएको भएपनि गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सृजना ईंट्टा उद्योगका साहु तेज भण्डारील २२ जना मजदुरहरुको ज्याला नदिएको कैलाली गाउँपालिका–३ कैलारी गाउँकी बिफ्नी चौधरीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘रोजगारको अवसर नभएपछि ईंट्टा उद्योगमा कडा मेहनेत गर्दै मजदुरी गरियो । तर, ईटा उद्योगका मालिकले काम मात्रै लगाए । नौ महिना वितिसिक्दा पनि पारिश्रमिक दिनु भएको छैन् । पारिश्रमिक नपाएपछि छाक टार्न समेत समस्या हुँदै आएको छ । पारिश्रमिक माग्न जाँदा साहले उल्टै कुटपिट गरेर चोरीको मुद्दामा फसाइ दिने धम्की दिने गर्नु भएको छ ।’
कैलारी गाउँपालिका–३ कैलारी गाउँका रामचरण चौधरीले २२ जना मजदुरले साहुबाट २ लाख ३७ हजार ४ सय ७३ रुपियाँ पारिश्रमिक पाउनु पर्ने भएपनि ईटा उद्योगका मालिकले पारिश्रमिक रकम दिन आलटाल गर्ने र धक्की दिने गरेको बताउनु भयो ।
कैलारी गाउँपालिका–२ कैलारी गाउँका दुखराम चौधरीले ईटा उद्योग मालिकसँग २०७९ असार २२ गते पारिश्रमिक माग्न जाँदा आफूलाई कुटपिट गरी चोरीको मुद्दामा फसाइ दिने धम्की पनि दिएकाले पारिश्रमिक वाफतको रकम नै माग्न छोडेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘सुरुसुरुमा यो महिना अन्तिममा हिसाब गर्दिन्छु भन्दा भन्दै नौ महिना वितिसक्यो । पारिश्रमिक रकम दिएकै छैनन् । ज्याला रकम माग्न जाँदा चोरीको आरोप लगाएर फसाइ दिने धम्की साहुले दिने गर्नु भएको ।’
कैलारी गाउँपालिका–२ कैलारीका रामदुलारु चैधरीले खेतीपाति नभएको समयमा घर खर्च चलाउनका लागि ईंट्टा उद्योगमा ज्यालादारी गरेको भएपनि ज्यालादारी वाफत पाउनु पर्ने ३९ हजार रुरिपयाँ नौ महिना वितिसक्दा समेत पाउन नसकेका गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘ज्यालादारी गरेको पारिश्रमिक रकम नपाउँदा बालबालिकालाई विद्यालय भर्ना गर्न, कपीकलम किन्न र घरखर्च चलाउन समस्या भएको छ ।’
कैलारी गाउँपालिका–२ रानामुडाका रामचरण चौधरीले पारिश्रमिक रकम माग्न जाँदा ईंट्टा उद्योगका साहुले कुटपिट गर्ने र चोरी मुद्दामा फँसाई दिने धम्की दिएका कारण डरले कुनै ठाउँमा उजुरी समेत दिन नसकिएको दुखेसो पोख्नु भयो ।
गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सृजना ईंट्टा उद्योगका मालिक तेज भण्डारीले ईटा भट्टका मजदुरहरुले दिएको जिम्मेवारी अनुसार काम नगरेका कारण पारिश्रमिक रकम रोकिएको बताउनु भयो ।
उहाँले ईटा उद्योगमा निर्माण व्यवसायी मार्फत पनि मजदुरहरु काम गर्न आउने भएकोले त्यस्ता कामदारहरुको हिसाब मिलानमा समस्या उत्पन्न भएर पनि रकम दिन नसकिएको बताउनु भयो ।
गौरीगंगा नगरपालिका–१ का वडाध्यक्ष डवलबहदुर दियाकोटी बोहराले अहिलेसम्म कसैले पनि पारिश्रमिक रकम पाउन नसकेको भनेर वडा कार्यालयमा उजुरी नदिएको तर उजुरी आएमा छलफल गर्न सकिने बताउनु भयो ।
कैलारी गाउँपालिका–२ का वडाध्यक्ष विकास चौधरीले हालसम्म उजुरी नआएको भएपनि मेरै वडामा बसोबास गरी ज्यालामजदुरी गरेर घरखर्च चलाउने व्यक्तिहरु भएकाले घटनाका बारेमा आवश्यक जानकारी लिएर प्रक्रिया अगाडी बढाउन सकिने बताउनु भयो ।