भरतपुर महानगरपालिका–१० रमाइलो चोककी ३३ वर्षीया रुष्मा आचार्यको पति ४० वर्षीय कृष्ण आचार्यले ०७९ साउन ८ गते राती ९ बजे हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
खुकुरी प्रहारबाट घाइते रुष्माको उपचारको क्रममा पूरानो मेडिकल कलेज भरतपुरमा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।
घरायसी झगडाका क्रममा पत्नीमाथि खुकुरी प्रहार गरी घटनालगत्तै कृष्णले घरको छतमा गई हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी अधिकारीले बताउनु भयो ।
घरको छतबाट हामफालेर घाइते भएका उनको राती ११ बजे चितवन मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
वैदेशिक रोजगारमा दुवई रहेका कृष्ण ६ वर्षपछि गत जेठ महिनामा घर फर्किएका थिए ।
अन्य व्यक्तिसँग पत्नीको सम्बन्ध रहेको शंका गरेका कृष्णले आउनेवित्तिकै ज्यानै लिनेसम्मको प्रयास गरेपछि असार २ गते रुष्मा जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसासम्बन्धी निवेदन दिएकी थिइन् ।
पीडित पत्नी रुष्मा र पति कृष्णबीच असार ३ गते महिला सेलमा प्रहरीले मेलमिलापसम्बन्धी छलफल गराएको थियो ।
त्यतिखेर छलफल निष्कर्षमा नपुगेपछि असार १७ गते दोस्रो पटक पुन: बोलायो । रुष्माले यो पटक आफ्नो माइती पक्षबाट आफन्तको उपस्थिति हुन नसक्ने भनि केही समय दिन आग्रह गरेपछि प्रहरीले असार ३१ गतेका लागि पुनः बोलाएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा असार ३१ गते पतिपत्नीबीचको छलफल सहमतिमा टुङ्गियो ।
दुवै जनाले सहमति कागजमा हस्ताक्षर गरी फर्किका थिए । सो सहमतिको रोहवरमा कोही पनि छैनन् ।
सहमति पत्रमा दुवै जनाले कानुनी प्रक्रिया अपनाउने र आआफ्नो सुरले बस्ने भन्ने उल्लेख गरिएको थियो ।
दुवै शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको डिएसपी नरहरि अधिकारीले बताउनु भयो । घटनाको सम्बन्धमा कहीँ कतैबाट उजुरी प्राप्त नभएको र पीडितका आफन्त आएपछि शवको पोष्टमार्टम गरी दाह संस्कारको लागि जिम्मा लगाइने डिएसपी अधिकारीले जानकारी दिनु भयो ।