गुठीचौर गाउँपालिका–३ गज्यांकोट गाउँस्थित शंकर माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएपछि समयमा मर्मतसम्भार हुन नसक्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
०७९ वैशाख १ गते आएको हावाहुरीले विद्यालयको कक्षा कोठाको भवनको उडाएको छाना समयमा मर्मतसम्भार नहुँदा विद्यार्थीहरूको दैनिक पठनपाठनमा समस्या भएको हो ।
हावाहुरीले विद्यालयको छाना उडाउनुको साथै पर्खाल भत्काई दिएपछि पठनपाठन अवरुद्ध हुँदै आएको शिक्षक तिल भण्डारीले बताउनु भयो ।
शंकर माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छात्र विकास बुढाका अनुसार ४ र ५ कक्षाका विद्यार्थी बस्ने दुई कोठे भवनको छाना हावाहुरीले उठाएर क्षति गरेको तीन महिना वितिसक्दा पनि मर्मतसम्भार नहुँदा पठनपाठनमा समस्या भएको छ ।
भवनको छाना र पर्खाल निमार्णका लागि पहल गरी दिन वडा कार्यालय र गाउँपालिकामा लिखित निवेदन दिएको भएपनि हालसम्म कुनै सुनवाई नभएको प्रद्यानाध्यापक एकराज बुढाले बताउनु भयो । उहाँले भन्नुभयो हावाहुरीले छाना उडाउदा दुई कोठे भवनमा क्षति पुगेको छ । हावाहुरीले छाना उडाएदेखि घाम लागेको दिनमा खुल्ला चौरमा र पानी परेको अवस्थामा अन्य कक्षाका विद्यार्थीसँग राखेर पठनपाठन गर्ने गरिएको छ ।
हावाहुरीले दुई कोठे विद्यालय भवनको छाना उडाएको हो । हावाहुरीले छाना उडाएपछि दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालयका प्रद्यानाध्यापक बुढाले जानकारी दिनु भयो ।
टिनको छाना उडाउँदा भित्र रहेका डेस्क बेन्चलगायत अन्य शैक्षिक सामग्री पनि पानीले भिजेर नष्ट भएको उहाँले बताउनु भयो । २०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १ देखि १० सम्म पढाइ हुने शंकर वहुउदेश्यीय मावि गज्याङकोट नमूना उन्मुख विद्यालय हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार हावाहुरीले उठाएको छाना मर्मतका लागि चालु आर्थिक वर्ष ०८९/०८० मा बजेट व्यवस्थापन गरेका छौँ । उहाँले भन्नु भयो अब चाडैँ नै छाना छाएर विद्यालयको पठनपाठनलाई सहज बनाउने छौँ ।
