३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डिलाशैनी गाउँपालिका– ४ मठैराज निवासी पुचौँडी बहुमुखि क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी विरुद्ध पीडित पक्षले असार २९ गते बलात्कारसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेका छन् ।
पति सामान लिन डडेल्धुरा गएको समयमा असार २० गते राति २ बजे कोठ भित्र प्रवेश गरेर बलात्कार गरेको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बलात्कार गरिरहेको समयमा डडेल्धुराबाट समान लिएर फर्किएपछि आरोपितलाई पत्नीकै कोठा भित्र नियन्त्रणमा लिइ असार २० गते राति नै पुर्चौडी प्रहरी चौकीमा बुझाउँदा पत्नीलाई धम्की दिएर बलात्कार नभएको भन्न लगाएर प्रहरीले मुद्दा दर्ता नगरि दिएको पीडित महिलाका पतिले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आफूमाथि बलात्कार गरिएको भन्दै असार २९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित महिलाले आरोपित नेगी विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको समेत इन्स्पेक्टर जोशीको भनाइ छ ।
पुर्चौडी प्रहरी चौकीमा आरोपित विरुद्ध उजुरी दिन जाँदा पतिलाई मार्ने धम्की दिएर बलात्कार नभएको भन्न बाध्य बनाएकोले न्यायका लागि पहल गरि दिन पीडित महिलाले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोग,धनगढीमा असार २७ गते निवेदन समेत दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार २९ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा भएको छ ।
क्याम्पस प्रमुख समेत रहेका नेगीले मजदुर महिलामाथि बलात्कार गरेको आरोपमा अनेरास्ववियु, अखिल( क्रान्तिकारी) र नेपाल विद्यार्थीसँगले असार २५ गते सयुक्त प्रेश विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कानुनी प्रक्रियामा ल्याउन समेत माग गरेका थिए ।