१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कैलाश गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले ०७९ असार २८ गते गिरफ्तार गरेको छ ।
पीडित छात्राले असार १८ गते आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै वडा अध्यक्ष घलानविरुद्ध पीडितले असार २३ गेत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी एसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार असार २८ गते दिउँसो हेटौँडा बजारबाट आरोपित वडा अध्यक्ष घलानलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद अन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन हेटौँडा आएकी कालिका माविकी छात्रालाई हेटौँडा उपमहानगरपालिका–१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राती यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताएको छ ।
आरोपित वडा अध्यक्ष घलानलाई प्रहरीले असार २८ गते जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशमा पाँच दिन हिरासत मै राखी आवश्यक अनुसन्धान गरिने एसपी गुरुङले जानकारी दिनुभएको छ ।