INSEC Online

📅 २०८३ जेष्ठ २१

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

बालबालिकाहरूलाई निःशुल्क वितरण गर्ने भनिएको विद्यालय तहको पाठ्यपुस्तक सरकारले समयमा पुर्‍याउन नसक्दा रसुवाको उत्तरगया, नौकुण्ड आमाछोदिङमो र कालिका गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूको पठनपाठन नियमित हुन सकेको छैन ।

कालिका गाउँपालिका भित्र रहेका मावि तहका सबै विद्यालयमा हालसम्म बालबालिकाले पाठ्यपुस्तक नपाएकोले पठनपाठनमा समस्या परेको हो ।

पाठ्य पुस्तक छपाइमा ढिलाई भएकोले नेपाली माध्यमका केही पुस्तकहरू पाउन नसक्दा पढाइमा बाधा पुगेको कालिकास्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम गुरुङले बताउनुभयो ।

प्रअ गुरुङका अनुसार गाउँपालिकामा एक मात्र पुस्तक बिक्रेता रहेको र ती बिक्रेताले समयमा पुस्तक उपलब्ध नगराएकोले समस्या उत्पन्न भएको हो ।

पुस्तक छपाइमा भएको ढिलाइका कारण पुस्तक आउन ढिला भएको र अङ्ग्रेजी माध्यमका पुस्तक सबै आएको कालिका बुक्स एण्ड स्टेशनरीका सञ्चालक रमेशकुमार लामिछानेले बताउनु भयो ।

लामिछानेका अनुसार नेपाली माध्यमका दुई/तीन ओटा सरकारी पुस्तक बाहेक अन्य पुस्तकहरू आएका छन् ।

जिल्लाकै विकट स्थानमा रहेको नौकुण्ड गाउँपालिका भित्रका विद्यालयमा कक्षा १ देखि १० कक्षामा ३ हजार १ सय ८ जना बालबालिकाहरू यस शैक्षिक सत्रमा भर्ना भएको लामो समय भए पनि आवश्यकता अनुसार विद्यार्थीसँग पाठ्यपुस्तक नभएकोले पठनपाठनमा समस्या परेको छ ।

शैक्षिकसत्र सुरु भएको लामो समय बित्दा समेत विद्यार्थीहरूले समयमा पुस्तक पाउन नसक्दा पढाइमा बाधा पुगेको निर्कुभूमे माविका विद्यार्थी विजय तामाङले बताउनु भयो ।

आमाछोदिङमो गाउँपालिका स्थित नेपाल राष्ट्रिय माविमा कक्षा ६ र ८ मा अध्ययनरत अघिकांश विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको शिक्षक जीवनाथ न्यौपानेले बताउनुभयो ।

नौकुण्ड गाउँपालिकाको निर्कुभूमे माविमा अनिर्वाय, विज्ञान, स्वास्थ्य, शिक्षा पुस्तक नपाएको विद्यार्थी भावना तामाङले बताउनु भयो ।

पाठ्यपुस्तक अभाव भएपछि घरमा पढ्न र नियमित गृहकार्य गर्न समस्या हुने गरेको भावनाको भनाई रहेको छ ।

अन्य

भिडियो