सार्वजनिक सेवा प्रवाह गर्ने निकायका भौतिक संरचना अपाङ्गतामैत्री नभएको भन्दै सार्वजनिक सेवा प्राप्तिमा समस्या हुने गरेको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।
असार ३ गते जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका विषयमा आयोजित अन्तरक्रियामा अपाङ्गता भएका व्यक्तिहरूले सङ्घीय सरकारसहित तीन ओटै सरकारका सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा भवनहरू अपाङ्गमैत्री नहुँदा सेवा प्राप्तिमा समस्या हुने गरेको गुनासो गरेका छन् ।
सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा सेवा प्राप्तिमा समस्या हुने गरेको अपाङ्ग महासङ्घ प्रदेश १ अध्यक्ष नविनचन्द्र ढुङ्गेलले बताउनु भयो ।
ढुङ्गेलका अनुसार अपाङ्गता भएका व्यक्तिहरूले सहज ढङ्गले सार्वजनिक सेवा पाउन भन्न उद्देश्यले सरकारले अपाङ्गतामैत्री नियम र कार्य विधि ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वय नहुँदा अझै पनि सरकारी कार्यालयका भवन अपाङ्गमैत्री हुन नसकेको बताउनु भयो ।
अपाङ्गमैत्री भौतिक संरचना बनाउन ०६९ सालमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त संरचना बनाउन सञ्चार निर्देशिका जारी गरिएको भएपनि त्यसको कार्यान्वयन नगरी भवन निर्माण गर्नाले समस्या उत्पन्न भएको अपाङ्ग महासङ्घ प्रदेश १ अध्यक्ष ढुङ्गेलको भनाइ छ ।
जिल्लामा भएका सरकारी कार्यालयदेखि शौचालय अपाङ्गमैत्री नहुँदा सास्ती भोग्नु परेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो ।
सरकारी कार्यालय जाँदा प्रमुख वा हाकिमलाई भेट्न समस्या हुने गरेको गुनासो सिचिचरण नगरपालिका–३ का ४३ वर्षीय बाका श्रेष्ठले गुनासो गर्नु भएको छ । उहाँले सरकारी कार्यालयका भवन अपाङ्गमैत्री नहुँदा भर्याङ चढ्न र शौच जानु परेको अवस्थामा सबैभन्दा असहज हुने बताउनु भयो ।
जिल्लाका केही बाहेक विद्यालय, सरकारी कार्यालय, स्थानीय तहका केन्द्र, वडाका भवन र शौचालय अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न खाले समस्या भोग्नु परेको राष्ट्रिय अपाङ्ग महासङ्घका ओखलढुङाका अध्यक्ष बालकुमार कट्वालले गुनासो गर्नु भयो ।
अपाङ्गता भएकाहरूलाई सार्वजनिक यातायातमा सहुलियतको व्यवस्था नभएको, स्थानीय तहबाट अपाङ्गता परिचयपत्र वितरणमा समेत विवेदपूर्ण व्यवहार हुने गरेको कटवालको भनाइ छ ।
आगामी दिनमा फरक क्षमता भएकाहरूले पाउने सुविधाबारे पहल गरिदिन अध्यक्ष कट्वालले जिल्लाका जनप्रतिनिधि र सरोकारवाला समक्ष माग राख्नु भएको छ ।
जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको लागि क्षमता अनुसार रोजगारका कार्यक्रम ल्याउनुपर्ने तर्फ उहाँले स्थानीय तहको समेत ध्यानाकर्षण गराउनु भएको छ ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन खनाल तेजेन्द्रले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान गरि चाँडै सबैलाई परिचयपत्र वितरण गर्ने र कार्यालयलाई पनि अपाङ्गमैत्री बनाउनमा पहल गर्ने बताउनु भएको छ ।
जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख डिल्लीराम खनाले जिल्लालाई अपाङ्गमैत्री बनाउन सक्दो पहलसँगै खबरदारी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।