१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–५ जाँजरका २५ वर्षीय फिदा हुसेन भनिने हाफिज फिदा हुसेनविरुद्धको मुद्दा सप्तरी जिल्ला अदालतले असार २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ‘फरार’ रहेका आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतले जानकारी दिएको छ ।
पीडित बालिकालाई आरोपित हुसेनले ०७७ साउन २३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७७ भदौ ५ गते उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भदौ ७ गते गरिएको थियो ।
ट्युशन पढाउने आरोपितले आफ्नो घरमा बोलाएर दुई पटक बलात्कार गरेको र पछि आफ्नै घरमा आएर बलात्कार गरेको पीडितले बताएकी छन् ।
घटनास्थलबाट नियन्त्रणमा परेका आरोपितसँग भएको छलफलमा कुरा नमिलेपछि ढिलो गरी आएको उजुरी इलाका प्रहरी कार्यालयले भदौ ७ गते दर्ता गरेको थियो ।
जिल्ला अदालतबाट आरोपितविरुद्ध ०७७ भदौ ९ गते पक्राउ पुर्जी जारी भए पनि आरोपित गिरफ्तार नभएपछि ०७८ साउन ३२ गते अदालतमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोजन पत्र दायर गरेको थियो ।