आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौँसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको थियो । झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले देशैभर स्थानीय तहको निर्वाचनमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएको बताएका छन् । उनका अनुसार ५० लाख जति जनता निर्वाचनमा सहभागी हुँदैछन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका जिल्ला प्रतिनिधिहरूले पठाएको विवरणका आधारमा क्षेत्रीय कार्यालयबाटसम्पादित समाचारहरू अनुसार ३४ ओटै जिल्लामा उम्मेदवारी दर्ता उत्साहका साथ शान्तिपूर्णरूपमा सम्पन्न भएका छन् ।
प्रदेश नम्बर ४ अन्तर्गतका ११ जिल्ला कास्की, स्याङ्जा, लमजुङ, बाग्लुङ, गोरखा, तनहुँ, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ र नवलपरासीमा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
गोरखामा निर्वाचन आचार संहिता विपरीत नेपाली काङ्ग्रेसले विद्यालय बसको प्रयोग गरेको छ । निजी विद्यालयको काङ्ग्रेस कार्यकर्ता ओसार पसार गर्न प्रयोग भएको हो । त्यस्तै निर्वाचन आचार संहिता राजनीतिक दलहरूले सार्वजनिक सवारी साधनको प्रयोग गरेका छन् । निर्वाचन आचार संहिता अनुसार सार्वजनिक सवारीमा कुनै पनि दलको झण्डा वा प्रचार सामाग्री प्रयोग गर्न पाइँदैन । तर वैशाख १९ गते शक्ति प्रदर्शन गर्ने नाउँमा कांग्रेस, एमाले र माओवादी केन्द्रले सार्वजनिक सवारीमा झण्डा र प्रचार सामाग्री राखेर कार्यकर्ता ओसारपसार गरेका हुन् ।
मनोनय दर्ताका क्रममा आचार संहिता उल्लङ्घन
प्रदेश नम्बर ३ का १३ जिल्ला सिन्धुली, रामेछाप, दोलखा, चितवन, मकवानपुर, ललितपुर, काभ्रे, भक्तपुर, काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, नवाकोट र रसुवा गरी १३ जिल्लामा सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयमा मनोनयन पत्र दर्ता गरेका छन् । अधिकांश जिल्लाहरूमा शान्तिपूर्ण तवरले उम्मेदवारी मनोनयन पत्र दर्ता भए पनि निर्वाचन आचार संहिता उल्लङ्घन भएका समाचारहरू प्राप्त भएका छन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार त्रिपुरा सुन्दरी गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा नेपाली काङ्ग्रेसले निर्वाचन आचार संहिता विपरित त्रिपुरासुन्दरी गाउँपालिका-२, मा रहेको बालविकास इङ्गलिस बोर्डिङ्ग स्कूलको सवारी साधन प्रयोग गरेको छ । काङ्ग्रेसको प्रचार गर्नका लागि गाडीमा झण्डा र चुनाब चिन्ह राखेर र्यालीमा गाडी प्रयोग गरिएको हो । त्रिपुरनसुन्दरी गाउँपालिका १ र २ न. वडाका विभिन्न स्थानमा र्याली निकाल्नका लागि काङ्ग्रेस कार्यकर्ताहरू गाडीमा नै सवार भइ जुलुस समेत गरेका थिए ।
सिन्धुली प्रतिनिधि विमला पाण्डेका अनुसार दुई नगरपालिका र सात गाउँपालिकामा उम्मेदवारी दर्ता शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । घ्याङ्गले गाउँपालिकामा उम्मेद्वारी दर्ता दिन जाने क्रममा माओवादी केन्द्र र विप्लव माओवादी कार्यकर्ता बीच समान्य भनाभव भएको र अप्रिय घटना नभएको मुख्य निर्वाचन अधिकृत परर्शुराम भट्टराईले बताए । केही सुरक्षा संवेदनशील क्षेत्रमा सुरक्षा समितिको बैठक बसी सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ताराबाहादुर कार्कीले बताए । कमलामाई नगरपालिकामा उम्मेद्वार मनोनयन पत्र दर्ता गर्ने क्रममा काङ्ग्रेस, माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरूले पार्टीको झण्डा र चुनवा चिन्ह अंकित भेष्ट र टोपी लगाएरै निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेको देखिएको थियो । माओवादी केन्द्रले २ सय मोटरसाइकलको र्याली सहित कमलामाई नगरपालिकामा उम्मेदवारी दर्ता गर्न आएको थिए ।
प्रदेश नम्बर ६ अन्तर्गतका सुर्खेत, जुम्ला, कालीकोट, हुम्ला, डोल्पा, मुगु, रुकुम, सल्यान, जाजरकोट र दैलेख जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूले उम्मेदवारी दिएका छन् । जुम्ला र रुकुम जिल्ला बाहेक अन्य जिल्लामा शान्ति पूर्वक उम्मेदवारी दर्ता भएको पाइयो । सुर्खेत र मुगु जिल्लामा एमाले र काङ्ग्रेसले निकालेको र्यालीमा बालबालिकाको प्रयोग भएका थिए ।
जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाली काङ्ग्रेस पार्टीले चन्दननाथ नगरपालिकाको मेयर उम्मेदवारीका लागि विवाद भएको छ । जिल्ला कार्यसमितिले मेयर पदका लागि राजुसिह कठायतको नाम सिफारिस गरी पठाए पनि केन्द्रीय कमिटिले कान्तिका सेजुवालको नाममा टिकट पठाएपछि विवाद भएको हो । काङ्ग्रेसका कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार उम्मेदवारी दर्ताको कार्यक्रम शान्तिपूर्वक सम्पन्न भएको छ । सदरमुकाम दुनैबाट एकसाताको पैदल यात्रापछि पुगिने उत्तरी भेगमा रहेको शे फोक्सुण्डो गाउँपालिका लगायत छार्का ताङसोङ गाउँपालिकामा रहेका मतदान स्थलहरूमा चार दिन अघि गएको कर्मचारी र सुरक्षाकर्मी सहितको टोली हिमपातका कारण बीच बाटोमा अलपत्र परेपछि वैशाख १९ गते हेलिकप्टरमार्फत उद्धार गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइएको छ । हिमपात र वर्षाका कारण निर्वाचन अधिकारी र सुरक्षाकर्मीसहितको टोली समयमा तोकिएको ठाउँमा पुग्न नसकेपछि उम्मेदवारी दर्तामा बिलम्ब हुने भएको छ । से फोक्सुण्डो गाउँपालिकामा निर्वाचन गराउनको लागि चार दिन अघि सदरमुकाम दुनैबाट गएको टोली धो गाउँको ताक्सीमा हिमपातले लेक पार गर्न नसकेर अलपत्र परेको थियो । निर्वाचनको लागि आवश्यक पर्ने सामग्री समयमै जिल्लामा नपुग्दा माथिल्लो डोल्पामा जाने अधिकृतहरूलाई पठाउने दिन पनि लम्बिएको निर्वाचन अधिकृत रामबहादुर बुढाले बताए ।
मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार सदरमुकाम गमगढीमा एमाले र नेपाली काङ्ग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि निकालिएको र्यालीमा बालबालिकाको प्रयोग गरेका थिए ।


















