जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएपछि पालो लगाएर सुत्नु पर्ने समस्या देखिएको छ । १० जना पुरुष र पाँच जना महिलाको क्षमता रहेको कारागारमा हाल ५४ जना कैदीबन्दी रहेका छन् ।
क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या हुने गरेको नाइके कुशबहादुर महताराले बताउनु भयो । उहाँले भन्नुभयो, कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ ।
जिल्ला कारागारमा हाल ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको जिल्ला कारागार जाजरकोटका जेलर चन्द्रबहादुर गिरीले जानकारी दिनुभयो । पुरानो भवन र क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरीले बताउनु भयो ।
जिल्लामा रहेको कारागार जिर्ण भएपछि कैदी बन्दीहरूले बर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी दीर्घबहादुर नेपालीले बताउनु भयो । उहाँले भन्नु भयो क्षमता भन्दा बढी कैदी बन्दी राखिएकाले खानेपानी र नुहाउन समेत समस्या हुने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताउँदै, उहाँले भन्नु भयो, कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ समस्या भइरहेको छ, यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालयले पहल गर्नेछ ।