जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम एक स्थानीयबासीले झुक्याएर लिएको खुलासा भएको छ ।
माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका-४ का लालबहादुर तामाङकी पत्नी जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको ५ लाख रुपियाँमध्ये ४ लाख ३० हजार रकम स्थानीय विदुर राईले लिएको खुलासा भएको हो ।
द्वन्द्वका क्रममा वि.सं २०६० साल चैत २५ गते राति हत्या गरिएका मृतक तामाङ परिवारले जिल्लाका दलहरूबिचको विवादका कारण १० वर्षढिला गरी राहत पाए पनि राईले झुक्याएर चलाई दिएको पीडित जमुना राईले गुनासो गरिन् ।
“म अनपढ र गाउँकी एक्ली महिला भएकाले सहयोगका लागि उनलाई साथ लिएको थिएँ । उनले मेरो सोझोपनको फाइदा उँठाइ पीडामाथि पीडा थपिदिएँ ।”-उनले भनीन् । राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्कमा शुन्य खातामा खोलिएको खाता नम्बर २६७१४ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जम्मा भएको रकम छक्याएर विदुरले चलाएको जमुनाको आरोप छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त पहिलो किस्ता रकम १ लाख रुपियाँमध्ये ५० हजार रुपियाँ र दोस्रो किस्ता २ लाख रुपियाँमध्ये २० हजार रुपियाँ मात्र हात परेको पीडित जमुनाले जानकारी दिइन् ।
तेस्रो किस्ताबापत प्राप्त २ लाख रुपियाँबाट भने एक पैसा पनि नपाएको जमुनाले वैशाख १५ गते जिल्ला प्रशासनमा दिएको निवेदनमा उल्लेख गरिएको छ । अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको जमुनाले बताइन् ।
राहत रकम फिर्ता पाउनका लागि निवेदन दिएपछि वैशाख १७ गते स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियमनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ ।