१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ का ४५ वर्षीय कविन्द्र राई र इलाम नगरपालिका–७ का ५८ वर्षीय राजेन्द्र चौहानलाई गिरफ्तार गरेको छ ।
इलाम नगरपालिका–९ गोलाखर्कस्थित राहसल बाल अनाथालयको संरक्षणमा राखिएकी बालिकालाई आरोपितद्घयले जेठ २० गते बलात्कार गरेको आरोप अनाथालयका उपाध्यक्ष रामबहादुर अधिकारीले जेठ २६ प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि कविन्द्रलाई जेठ २६ गते र राजेन्द्रलाई जेठ २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
राहसल बाल अनाथालयका संस्थापक एवम् वर्तमान अध्यक्ष राजेन्द्र र सचिव कविन्द्रले बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा जेठ २६ गते अनाथालयका उपाध्यक्ष रामबहादुर अधिकारीले मौखिक उजुरी दिएपछि आरोपितद्घयलाई घरबाटै अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २६ गते गरिएको छ ।
दुई दशकयता बालबालिका संरक्षण गरिरहेको अनाथालयमा बेसहारा, अनाथ बालबालिका राखिएका छन् ।
राजेन्द्र चौहानकै सक्रियतामा उनैले दान दिएको आठ रोपनी जग्गामा ०६६ सालमा अनाथालय स्थापना गरिएको थियो ।
सडक, बजार, गल्ली, जङ्गलमा भेटिने अनाथ बालबालिकालाई अनाथालयमा राखिने गरेको अनाथालयका उपाध्यक्ष रामबहादुर अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार अनाथालयका अहिले आठ जना बालक र आठ जना बालिका राखिएका छन् ।