हरेक वर्ष जेठ २३ गते बाँदरमुढे घटनाका पीडितहरू घटना स्थलमा भेला हुन्छन् । उनीहरूको मुख्य माग भनेको कित न्याय कि त र दोषीलाई सजायँ भन्ने नै हो ।
तर राज्यले अहिलेसम्म आफूहरूलाई न्याय गर्न नसकेको र दोषीलाई कारबाहीसमेत गर्न नसकेको भन्दै बाँदरमुढे घटनाका पीडितले गुनासो पोखेका छन् ।
‘हामी पीडित परिवारलाई परीपूरणको व्यवस्था भयो भने पनि न्यायको महसुस हुन्छ, नत्र भने अपराधिक घटना गराउनेलाई कारबाही हुनुपर्यो त्यसले पनि चित्त वुझ्छ तर दुवै नहुँदा हामी पीडामा बाँच्न बाध्य भएका छौं, बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले भन्नुभयो ।
बसमा सँगै सवार पति र डेढ वर्षको छोरी गुमाउनु परेको पीडा सीता सुवेदीलाई अहिले पनि उत्तिकै छ । उहाँ आफू पनि घाइते हुन् ।
तर उनको नाम घाइतेको सूचीमा छैन । ‘अहिले पनि उपचाररत छु, तर मलाई यो घाइते हो भनेर कसैले सूचीकृत गरिदिएका छैनन, सीताले भन्नुभयो ।

साविक कल्याणपुर गाविस–१ र ४ को सीमानामा पर्ने बाँदरमुढे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ जेठ २३ गते विद्युतीय धराप विष्फोट गराउँदा सर्वसाधारण र निशस्त्र सुरक्षाकर्मी गरी ४२ जनाको मृत्यु र ६८ जना घाइते भएका थिए ।
यो घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधान गर्ने भनिए पनि अहिलेसम्म उजुरीको पोको खोलिएको छैन ।
एकमुष्ट ५७ ओटा उजुरी आयोगमा दर्ता भएको छ । आयोगमा पनि राजनीतिक भागवण्डा हुँदा समाधान हुन नसकेको पीडितहरुको भनाइ छ ।
प्रधानमन्त्री समेत भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना पीडितलाई राहत प्याकेजको घोषणा गरे । रोजगारी र परीपुरणको कुरा गरे तर समाधान भएको छैन । मृतक परिवारका २५ घरले थप १ लाख रुपैयाँ केही वर्ष अघि पाएका थिए ।
बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्ति न्यौपानेले कतिपय घाइतेहरूको नाम रातो कितावमा समावेश नभएको बताउनुभयो ।
त्यस्तै मानव अधिकारकर्मी तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षितले बाँदरमुढे घटनालाई छोप्ने प्रयास भएकाले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
बाँदरमुढे घटना पीडित समितिको आयोजना तथा एड्भोकेसी फोरम नेपालको सहयोगमा माडी नगरपालिका–६, बाँदरमुढे स्मारक स्थलमा सोमबार आयोजित स्मृति कार्यक्रममा बोल्दै दीक्षितले घटना गराउने व्यक्तिले कसको आदेशमा किन गरेको भनेर जनतासामु आएर भन्ने हिम्मत गर्नुपर्ने बताउनुभयो ।
दीक्षितले बटन थिचेर आउँदै गरेको बसलाई लक्षित गरेर विस्फोट गराउनु जघन्य अपराध भएकाले द्वन्द्वकालीन घटना भनेर मात्र हेर्न नमिल्ने बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त मानव अधिकारकर्मी सुशील प्याकुरेलले बाँदरमुढे घटना नभई काण्डका रूपमा नियोजित तरिकाले गराइएको बताउनुभयो ।
बाँदरमुढे घटनालाई राजनीतिक उद्देश्यका लागि भएको मान्न नसकिने जिकिर गर्दै उनले बाँदरमुढे घटनाका पीडित परिवार एवम् घाइतेहरूको समेत उचित व्यवस्थापन र दोषी उपर न्यायिक निरुपण हुनुपर्ने माग गर्नुभयो ।
माडी नगरपालिका मेयर ताराकुमारी काजी महतोले घटनाका पीडित परिवारलाई छिटै न्याय दिनुपर्ने बताउनु भयो ।
पीडित परिवारको जीविकोपार्जनका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने योजना रहेकाे पिन मेर महतोले जानकारी दिनु भयो ।