INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी अभाव भएपछि स्थानीयलाई सास्ती

पाटन नगरपालिका–५ वसन्तपुरमा खानेपानीको चरम अभाव भएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

वर्षौदेखि यस नगरपालिकाको वसन्तपुर गाउँ कनेडामा खानेपानीको चरम समस्या रहेको भएपनि सम्बन्धित निकायले चाँसो नदिएका कारण आफूहरुले खानेपानीका लागि सास्ती खेप्नु परेको स्थानीय ध्वजसिंह ठगुन्नाले दुखेसो पोख्नु भयो ।

सुख्खायामको समयमा एक घण्टाको पैदल दुरीमा रहेको मूहानबाट खानेपानी ल्याउनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

गाउँमा खानेपानीको आहाकार भएपछि गाईवस्तु पाल्न समेत समस्या भएको स्थानीय पशुपति ठगुन्नाले गुनासो गर्नु भयो ।

घरकै लागि पानीको जोहो गर्न पिठ्युमा ५० लिटरको जार बोकेर ल्याउनु पर्ने बाध्यताले गर्दा चौपायका लागि पानी नै बोक्न नसकिने अवस्था रहेको उहाँले दुखेसो गर्नु भयो ।

गाउँमा खानेपानीको समस्या समाधानका लागि सम्बन्धित निकायहरुसँग पहल गर्दा समेत सुनुवाई नभएको स्थानीयहरुले गुनासो गरेका छन् । पञ्चायतकालदेखि नै आफूहरुले खानेपानीको समस्या झेलीरहेको स्थानीय ध्वजसिंह ठगुन्नाले बताउनु भयो ।

नगरपालिकाका विभिन्न स्थानमा खानेपानीको समस्या रहेकाले ती समस्या समाधानका लागि नगरपालिकाले पहल गर्ने उपप्रमुख कमलसिंह बोहराले बताउनु भयो ।

वसन्तपुरमा मात्रै नभएर नगरपालिकाका धेरै जसो ठाउँमा खानेपानीको समस्या भएकोले ती समस्या समाधान गर्न पहिलो वर्षमा नै खानेपानी समस्या समाधानका लागि पहल गर्ने निर्णय गरिएको उपप्रमुख बोहराको भनाइ छ ।

photo20220603baitadi

अन्य

भिडियो