राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी तीन चरणमा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने भएको छ । आयोगका मानव अधिकार अधिकृत सहितको टोली यसै हप्तादेखि अनुगमनको लागि खटिने आयोगले जनाएको छ ।
‘टोलीले, राजनीतिक दलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको सम्बन्धमा अनुगमन गर्नेछ । यसका साथै मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानव अधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा समेत टोलीले अनुगमन गर्नेछ ।’-आयोगद्वारा वैशाख १४ गते जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनको अनुगमनका लागि आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीको संयोजकत्वमा मानव अधिकार अनुगमन तथा समन्वय समिति निर्माण गरिएकोसमेत आयोगले जनाएको छ ।
कुनै पनि राजनीतिक विषयलाई समर्थन गर्ने वा नगर्ने राजनीतिक दल वा व्यक्तिको अधिकार भएपनि त्यसलाई हिंसात्मक एवम् ध्वंसात्मक नबनाउन तथा सर्वसाधारणको मानव अधिकारको सम्मान गर्न राजनीतिक दल तथा सरोकारवालाहरूसँग आयोगले आग्रह गरेको छ ।