INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्ने जनाएको छ ।

प्रदेश सभाको ०७९ जेठ १६ गतेको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको हो ।

photo1makawanpur20790216

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार लगायतका लैङ्गिक हिंसाबाट पीडित तथा प्रभावितहरूको लागि उद्धार, राहत, मनोसामाजिक परामर्श सेवा र पुनर्स्थापना लगायतका सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

साथै विद्यालय तहमा लैङ्गिक हिंसा विरुद्धको चेतना तथा किशोरावस्था लक्षित कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिने प्रदेशको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनयुद्ध र जनआन्दोलनका घाइतेहरूलाई प्रादेशिक अस्पतालमा निःशुल्क उपचारदेखि मृगौला रोगीका लागि निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गर्नेसम्मका विषय समेटिएको छ ।

कार्यक्रममा ५० बेडको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने, ‘मुख्यमन्त्री जनता स्वास्थ्य’ कार्यक्रम अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुला लगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने, ‘एक माध्यामिक विद्यालय, एक नर्स कार्यक्रमलाई थप प्रभावकारी बनाइ विस्तार गरिने, बालबालिका, गर्भवती महिला, किशोरी एवम् ज्येष्ठ नागरिकको पोषण स्वास्थ्यका लागि ‘जनता पोषण कार्यक्रम’ सञ्चालन गरिने लगाएतको विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश सरकारले हेटौंडा अस्पताललाई विशिष्टीकृत संस्थाको रुपमा स्तरोन्नती गर्ने भएको छ ।

photo3makawanpur20790216

प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौंडासँगै भक्तपुर, त्रिशुली सिन्धुली धादिङ, पशुपति चौलागाईस्मृति अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक संस्थाको रुपमा स्तरोन्नती गर्ने जानकारी दिनुभयो ।

आगामी वर्षको नीति तथा कार्यक्रमबारे जानकारी गराउनुहुँदै उहाँले हेटौँडा अस्पताललाई २ सय बेडको अस्पतालमा स्तरोन्नती गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत बिस्तार गर्ने बताउनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिस्तार सुदृढीकरण गर्दै लगिने भन्दै उहाँले प्रतिष्ठानको आफ्नै अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडी बढाईने जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सरकारले प्रदेश भित्र बसोबास गर्ने लोपोन्मुख र अतिसिमान्तकृत समुदायहरू बनकरिया, चेपाङ, जिरेल, माझी, दनुवार गन्धर्व लगायत सूचीकृत समुदायको लागि विशेष कार्यक्रम ल्याउने भएको छ ।

उहाँका अनुसार चेपाङ समुदायको आर्थिक, सामाजिक रुपान्तरणको लागि प्रदेश भित्र मकवानपुर, धादिङ, चितवन रहेका चेपाङ बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षण क्षेत्र बनाईने उल्लेख छ ।

यस्तै प्रदेश भित्रका सबै जिल्लामा नमुना बाल विकास केन्द्र सञ्चालन गर्ने भएको छ ।

बालबालिकाको सर्वाङ्गिण विकासको थलोको रुपमा रहेको बालविकास केन्द्रलाई स्थानीय तहको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नति गर्ने उल्लेख छ ।

प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै शर्माले लोपोन्मुख र अतिसिमान्तकृत समुदायका बालबािलकालाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।

स्थानीय तहको सहकार्यमा विद्यालयमा पूर्व प्राथमिक तहको कक्षा सिकाईलाई प्रभावकारी बनाउन भौतिक संरचना सुधार र आधुनिक पाठ्य सामाग्री तयार गर्ने उहाँले जानकारी दिनुभयो ।

खाद्य सुरक्षका लागि उत्पादन, उत्पादनका लागि प्रदेश सिचाईँ कार्यक्रमलाई साकार पार्न निर्माणधिन आयोजनाहरूलाई सम्पन्न गरिने र नयाँ आयोजनाहरूको सम्भाव्यताको खोजि गर्ने कार्यक्रमलाई अघि सारिएको छ ।

सङ्घीय सरकार र स्थानीय तहसँगको सहकार्यमा विपद् प्रभावितहरूका लागि नीजि आवास पुननिर्माण तथा पुनस्थापना कार्यालाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

photo2makawanpur20790216

अन्य

भिडियो