३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाको प्रहरीले आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया टोलका ४० वर्षीय लखिन्द्र हजरा भनिने तुलसी हजरालाई घटनास्थलबाट जेठ १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ १३ गते शौच गर्न गएको बेला आरोपितले बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।
आरोपितविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ १४ गते उजुरी दिएको छ । पीडित महिलाको उपचार जेठ १३ गते कलैया अस्पतालमा भइरहेकोमा कलैया अस्पतालले पीडितको सिटी स्क्यान गर्न जेठ १४ गते बीरगंज रेफर गरेको छ ।
घटनामा संलग्न अर्का आरोपित सोही ठाउँका ३२ वर्षीय छोटेलाल हजरा ‘फरार’ रहेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको पतिले न्यायका लागि पहल गरिदिन जेठ १४ गते इन्सेक जिल्ला प्रतिनिधिलाई निवेदनमार्फत अनुरोध गरेका छन् ।
इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि पहल गर्नुभएको इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधामले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।