मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार रङ्गेली नगरपालिका–७ स्थित जनता क्याम्पसमा वडा–७ को ३ हजार ४ सय ४२ मत खसेकोमा मतगणना क्रममा ९९ मत बढी फेलापरेपछि उत्पन्न भएको विवादका कारण जेठ ६ गतेदेखि रोकिएको गणना जेठ ७ गते साँझपछि सुरू भएको छ ।
झापाको गौरादह नगरपालिकामा विवादका कारण जेठ ६ गतेदेखि रोकिएको मतगणना सुरू हुन सकेको छैन ।
रङ्गेली नगरपालिकामा मतगणनाका क्रममा १ सय मत बढी फेला परेपछि गणना रोकिएकोमा जेठ ७ गते प्रदेश निर्वाचन कार्यालय विराटनगरका अधिकृत लेवन कश्यप अधिकारीसहित तीन जनाको सम्मिलित छानविन समिति गठन गरिएपछि मतगणना कार्य सुचारू भएको जिल्ला निर्वाचन अनुगमन समिति संयोजक दीर्घराज मैनालीले बताउनु भयो ।
जेठ ७ गते मतगणनास्थलमा प्रदेश निर्वाचन अधिकृत लेवन कश्यप अधिकारी संयोजक रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएपछि मतगणना सुरू भएको पत्रकार दिलिप अग्रवालले बताउनु भयो ।
छानविन समितिमा अधिकारी संयोजक र सदस्यमा जिल्ला प्रशासन कार्यालय मोरङकी प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरे रहनु भएको छ ।
छानविन समितिले जेठ ७ गते विज्ञप्ति जारी गरी मतगणनामा समस्यमा नभएको तर कम्प्युटरमा तथ्याङ्क इन्ट्री गर्दा भुल भएकाले तथ्याङ्कमा हेरफेर भएको जनाएको छ ।
जेठ ६ गते खसेको मत भन्दा बढी मत फेला परेपछि मतगणनास्थलमा तनाव उत्पन्न भएको थियो । सो क्रममा गठवन्धनका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो ।
झडपका क्रममा नेपाल प्रहरीका सही पुजन लाप्चा, असई आशिषकुमार मण्डल, रामविलास यादव, प्रहरी जवान मनोजकुमार मण्डल, सुनील शाह र रेविन्द्र दरना घाइते हुनु भएको छ ।
घाइतेको जिल्ला अस्पतात रङ्गेलीमा उपचार भइरहेको छ । सोही क्रममा गठवन्धनकी कार्यकर्ता सुनिता मण्डल घाइते भएको पत्रकार दिलिप अग्रवालले जानकारी दिनु भएको छ ।
घाइते उपचार भइरहेको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार गौरादह नगरपालिकामा मतगणनामा विवाद भएपछि जेठ ६ गते बेलुकादेखि रोकिएको गणना जेठ ७ गतेसम्म सुचारू हुन सकेको छैन ।
निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शङ्कास्पद भएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि गणना कार्य रोकिएको छ ।
जेठ ६ गते बेलुका गौरादह नगरपालिका–७ को वडाध्यक्ष पदमा एक मतको फरकमा एमालेका उम्मेदवार निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेपछि सो परिणामलाई लिएर गठबन्धनका प्रतिनिधिले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा १ हजार २० मत पाएका थिए । गठबन्धनका उम्मेदवारले १ हजार १९ मत पाएको परिणाम सार्वजनिक गरिएको थियो ।
गठबन्धनका प्रतिनिधिले निर्वाचन कर्मचारीले धाँधली गरेर एमाले उम्मेदवारको पक्षमा एक मत बढी देखाएको आरोप लगाएका छन् । गठबन्धनले गौरादह नगरपालिका– ७ मा पुनः मतगणनाको माग राखेको कांग्रेस नगर सभापति यादवराज सेढाईले बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले समस्या समाधानका लागि पटकपटक बैठक बसेपनि वार्ता निश्कर्षविहीन हुँदा मतगणना कार्य अघि बढ्न नसकेको बताउनु भएको छ ।


