INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत

निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ ।

आयोगद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिन्ह प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन र दोस्रो चरणका लागि हुने निर्वाचन कार्यक्रम स्वीकृत गरिएको जानकारी दिए ।

आयोगका अनुसार पहिलो चरणको निर्वाचनको मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन यही वैशाख १९ गते, उम्मेद्वारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने वैशाख २० गते, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिने दिन वैशाख २१ गतेलाई तोकिएको छ ।

त्यस्तै, उम्मेदवारको आन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्य वैशाख २२ गते तथा मतदान वैशाख ३१ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ ।

दोस्रो चरणको निर्वाचन अन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयन दर्ता भएका उम्मेद्वारको सूची जेठ १९ गते प्रकाशन गर्ने, उम्मेद्वारको विरोधमा उजुरी दिने र मनोनयन जाँच जेठ २० गते, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशित गर्ने र उम्मेद्वारले नाम फिर्ता लिने जेठ २१ गतेका लागि तय भएको आयोगले जनाएको छ ।

त्यस्तै, उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जेठ २२ गते तथा मतदान गर्ने जेठ ३१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको कार्यक्रम आयोगले स्वीकृत गरेको जनाएको छ ।

मतदान सकिएपछि निर्वाचन अधिकृतले गाउँपालिका र नगरपालिकाका वडाभित्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।

अन्य

भिडियो