उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार निर्वाचन सम्पन्न भएको तीन दिनपछि कटारी नगरपालिका–१० सोरूङछविसेस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका कटारी ल्याइएको छ । निर्वाचनका दिन मतपेटिका असुरक्षित हुने भन्दै प्रहरीले सुरक्षाका लागि गोली चलाउँदा कटारी नगरपालिका–१० का १९ वर्षीय नविन भनिने वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो । मृत्युपछि स्थानीयले शवलाई मतदान केन्द्रको छेऊमा राखेर विरोध गर्दै आएका थिए । स्थानीयले मतपेटिका उठाउन दिएका थिएनन् । पीडित परिवारलाई क्षतिपूर्ति, मृतक परिवारका एक जना सदस्यलाई रोजगारी दिने लगायतका सात बुँदे सहमतिपछि पीडित पक्षले शव बुझेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । शवको पोष्टमार्टम कटारी अस्पतालका लागि ल्याइदैँछ ।











सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार चिचिला गाउँपालिकामा वैशाख ३१ गते मध्यान्हपछि मत गणना स्थगित भएको छ । चिचिला गाउँपालिको मत गणना स्थगित भएको चौविस घण्टायता स्थगित भएको चिचिला गाउँपालिका निर्वाचन अधिकृत शान्तिप्रसाद शर्माले बताउनु भयो । मत गणनाका क्रममा एमाले र कांग्रेस कार्यकर्ताबिच विवाद भएको थियो । विवादका क्रममा कांग्रेस कार्यकताले नेकपा एमालेका कार्यकर्ता विनोद राई र मोहन दर्जीमाथि कांग्रेस कार्यकर्ता नरेश राईमाथि कुटपिट गरेको आरोप एमालले लगाएको छ । मत गणनालाई विथोल्न, मतपत्र छरपष्ट र असुरक्षित पारिएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले मतगणना बहिस्कार गरेका छन् । मतगणनामा धाँधली गर्ने, कुटपिट गर्ने माथि कारबाहीको माग गरिएको छ । एमाले र माओवादीले संयुक्त रूपमा विज्ञप्ति निकालेर कारबाहीको माग गर्दै मतगणना स्थलबाट बाहिरका छन् । निर्वाचन अधिकृत शर्माले जेठ १ गते अपरान्ह ३ बजेसम्म सहमति जुटेको छैन । सहमतिका लागि छलफल भइरहेको भएपनि निर्णायक हुन नसकेको निर्वाचन अधिकृत शान्तिप्रसाद शर्माले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । चिचिला गाउँपालिका–१ र २ को मतगणना सकिएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मतगणनाको अपडेट गराउने क्रममा वैशाख ३१ गते राति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सदस्य तथा एभिन्यूज टेलिभिजनका समाचारदाता रवीन्द्र बराललाई रङ्गेली नगरपालिकामा कांग्रेसका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । जनता क्याम्पसमा मतगणना भइरहेको अवस्थामा टेलिभिजनमा अपडेट गराएपछि रङ्गेली नगरपालिका–४ का ३८ वर्षीय विकास अधिकारी र रङ्गेली नगरपालिका–६ का ४० वर्षीय रूपेश यादवले दुर्व्यवहार गरेको आरोप पत्रकार बरालले लगाउनु भएको छ । घटनाका विषयमा दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले जेठ १ गते विज्ञप्ति जारी गरेको छ । मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकको रूपमा परिभाषित गरेको छ । वैशाख ३१ गते राती ८ बजेदेखि स्थगित भएको गणना जेठ १ गते साँझसम्म सुरू हुन सकेको छैन । रङ्गेली नगरपालिका–८ को मतपेटिका गणना अघि नै शील तोडिएको भन्दै गठवन्धनमा आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले नाराबाजी गरेपछि गणना रोकिएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार बराहक्षेत्र नगरपालिकामा विवादका कारणले मतगणना स्थगित भएको छ । जेठ १ गते दिउँसो १ बजे बराहक्षेत्र नगरपालिका–१ मा १ हजार ७ सय मत गणना भइसकेपछि विवादका कारण मतगणना स्थगित भएको हो । प्रमुख पदको स्थानमा हँसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो । गठबन्धन दलका तर्फबाट प्रमुखमा कांग्रेसका रमेश कार्की र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमित गौतमको उम्मेदवारी छ । माओवादीले उम्मेदवार नै न उठाएको अवस्थामा मतपत्रमा प्रमुखको स्थानमा रहेको हँसिया हथौडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई पनि गठबन्धनको नाममा गणना गर्नुपर्ने मागपछि विवादले मतगणना स्थगित भएको हो । विवाद समाधानका लागि दुवै पक्षबिच छलफल गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दलहरूबिचको असमझदारीका बीचमा समझदारी र समाधानका लागि छलफल गर्ने तयारी गरिएको बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी यादवले विवाद समाधान भएपछि पुनः मतगणना सुरू हुने बताउनु भएको छ ।