दार्मा गाउँपालिकमा मतगणना स्थगित भएको छ । नेपाली काँग्रेसका कार्यकताहरुले मतगणना स्थलमा हो हल्ला गर्न थालेपछि साउन १ गते मतगणना स्थगित गरिएको हो ।
मतणना स्थल बाहिर लाठीसहित काग्रेस कार्यकताहरुले हो हल्ला गरेपछि मत गणना स्थगित भएको हो । होहल्लापछि मत गणना सूचारु गर्नका लागि सर्वदलीय वैठक शुरु भएको छ ।
यसैबीच समाचार संकलन गर्न गएका रेडियो शारदाका पत्रकार प्रकाश शर्मालाई काग्रेस कार्यकताहरुले हातपात गरेका छन् । उनीहरुले फोटो खिचिरहेको अवस्थामा लगाएको कपडा च्यात्नुका साथै मोवाईल समेत लिएर गएको पत्रकार शर्माले जानकारी दिनु भएको छ । पत्रकारमाथी गरिएको दुव्र्यवहारको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा मतपत्रमा भेटिएको फरक स्वस्तिक छापको विषयलाई लिएर दलीय विवाद भएपछि वैशाख ३१ ग्ते दिउँसोदेखि स्थगित भएको मतगणना सुचारु हुन सकेको छैन ।
त्रिपुरासुन्दरी नगरपालिका वडानं २ को मतपत्र गणना गर्ने क्रममा २ सय १३ मतगणना गरी २ सय १४ औ मत गणना गर्ने क्रममा निर्वाचन आयोगको मापदण्ड विपरितको स्वस्तिक छाप लगाइएको मतपत्र फेला परेपछि विवाद भई मतगणना कार्य स्थगित भएको थियो । वडा नम्वर २ मा मतगणना भएका २ सय १४ मतपत्र नेकपा एमालेका उम्मेद्वारलाई एक छापे लगाइएको आशंकामा नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रका प्रतिनिधिहरुले विरोध गरेको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले बताउनु भयो ।
वडानं २ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत विष्णुबहादुर केसीले निर्वाचन आयोगको रवरको छापले स्पष्ट रुपमा मसि नलागेपछि आफूले अलिकति ठूलो आकारको पितलको छाप मतपत्रमा लगाउन दिएको जानकारी दिनु भयो । उहाँका अनुसार पितलको छाप दिदा दलीय सहमतिमा मुचुल्का गर्नु पर्नेमा त्यसो नगरेकाले सामान्य विवाद भएको तर कुनै गलत नियत नरहेको बताइएको छ ।
मतगणनाले अन्तिम रुप लिनु पर्नेमा मतपत्रमा लगाइएको फरक छापको आकारलाई लिएर विवाद भई स्थगित भएको मतगणना शुरु नहुँदा अन्यौलता छाएको छ । विवाद समाधान गरी स्थगित मतगणना सुचारुको लागि तीन चरणमा दलीय सहमति खोज्न नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा एमालेका उम्मेद्वार र प्रतिनिधि राखेर छलफल गराउदा काँग्रेस र माओवादी केन्द्रको पुन मतदान गर्नुपर्ने अडान र नेकपा एमालेको मतगणना सुचारु गर्नु पर्ने अडानले सहमति जुट्न नसकेको निर्वाचन अधिकृतको कार्यालय त्रिपुराकोटले जनाएको छ ।