गजुरी गाउँपालिका–८ को वडा कार्यालय भवन बरभन्ज्याङ मतदान केन्द्रमा सर्वदलीय संयन्त्रले पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले अस्वीकार गर्दै फुटेको मतपेटिकाको मत गन्न स्वीकृति दिएको छ ।
मतदान हुँदा गर्दा विवाद भएपछि वैशाख ३० गते सो केन्द्रमा ४ बजेदेखि मतदान रोकिएको थियो ।
एकै किसिमको परिचय पत्र ल्याउँदा केही मतदाताले मत हाल्न पाउने र केहीले मत हाल्न नपाएपछि आफूहरूलाई हेपेको आरोप लगाउँदै मतादाताले गरेको हुलदङ्गापछि प्रहरीले तीन राउण्ड हवाइ फायर समेत गरेको थियो ।
सोही क्रममा मतपेटिका तोडफोड भएको थियो । सो मतमेटिकामा टेप लगाएर मतदान केन्द्रका मतदान अधिकृत तथा सुरक्षाकर्मीले सुरक्षित गरेका थिए ।
तर, त्यसपछि १ सय ५० भन्दा बढी मतदाता लाइनमा भए पनि हवाइ फायर भएपछि मतदाताहरू भागाभाग गरेका थिए ।
तर त्यसपछि पुनः मतदान सुरु नगरिकन मतदान सकिएको मुचुल्का बनाएर पालिकाको केन्द्रमा लगिएको थियो ।
केहीबेरपछि जम्मा भएका मतदाताहरूले मत हाल्न माग गरे पनि निर्वाचनमा खटिएका मदतान अधिकृत र केही राजनीतिक दलको मिलेमतोमा लाइनमा भएका मतदाताहरूलाई मतदान गर्नबाट वञ्चित गरिएको सोही मतदान केन्द्रमा रहनुभएका राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच टेप लगाएका मतपेटिकाको मत गणना नगर्न नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा समाजवादीले समेत पुनः मतदान गर्न माग गर्दा गर्दै पनि बेवास्ता गरिएको एमालेका वडाअध्यक्ष उम्मेदवार योगेन्द्र बस्नेतले वैशाख ३१ गते पत्रकारहरूलाई बताउनुभयो ।
पालिकामा टेप टाँसेर ल्याइएको मतपेटिकालाई गणना नगर्न र पुन मतदान गर्न माग गर्दै निर्वाचन अधिकृतले निर्वाचन आयोगमा पठाए पनि फुटेको मतपेटिकाको मत गणना गर्न अनुमति दिएको छ ।
मतदानको बेला मतपत्र हातमा लिएका मतदाताहरूले मतदान केन्द्रमा हुलदंगा भएपछि मतपेटिकामा मत हाल्न नसकेत नपाएको अवस्थामा केही मतपत्रहरू मतदाताहरूले घरमा लगेका छन् । केही मतदाताहरूलाई मताधिकारबाट वञ्चित गराइएको अवस्था रहेको छ ।
निर्वाचन अधिकृत चक्रपाणी शर्माले निर्वाचन आयोगले गरेको निर्णय अनुसार आफूले कार्यान्वयन गर्ने बताउनुभयो ।
तीन ओटा मतदान केन्द्र रहेको यस स्थानमा २ हजार ४ सय ७७ मतदाता रहेकोमा १ हजार ६ सय ८८ जनाले मतदान गरेको मुचुल्का उठाइएको थियो ।