उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुुसार कटारी नगरपालिका–१० को सोरुङछबिसेमा मतपत्र सिल गर्ने क्रममा प्रहरीले स्थानीयलाई गोली हानी हत्या गरेपछि सोरुङछबिसे अझै तनाबग्रस्त छ ।
मतपत्र सिल गर्ने क्रममा स्थानीयको भिड नियन्त्रण गर्ने क्रममा वैशाख ३० गते प्रहरीको गोली प्रहारबाट कटारी नगरपालिका– १० का १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार मतपेटिका सिल बन्दी गर्ने क्रममा नेकपा माओवादी केन्द्रका कार्यकताले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो ।
तर स्थानीयले भने सामान्य घटनामै प्रहरीले गोली चलाएको आरोप लगाउँदै आएका छन् । स्थानीय तथा वडा–१० कै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार क्षत्रबहादुर खड्काले मतपत्र सिल गर्ने क्रममा फर्जी मत पनि हालिएको हुनसक्ने अनुमानपछि विवाद भएको थियोे ।
भिडलाई नियन्त्रण गर्न लाठ्ठी चार्ज अथवा अश्रृ ग्याँस प्रयोग गर्न सकिन्थ्यो तर त्यसो नगरेर सिधै गोली हानेको स्थानीयको आरोप प्रहरीलाई छ ।
शव मतदान केन्द्रमै राखिएको छ भने घाइते १४ वर्षीय बालक मन श्रेष्ठलाई उपचारका लागि एम्बुलेन्सबाट राति काठमाडौं लगिएको छ ।
घटनास्थलबाट कटारी नगरपालिका झन्डै ४० किलोमिटरको दुरीमा पर्छ भने सदरमुकाम गाईघाटबाट करिब ९० किलोमिटरको दुरीमा पर्छ ।
गोली प्रहारबाट एक जनाको ज्यानपछि स्थानीयले मतदाता बक्स सङ्गलनमा रोक लगाऊँदै धर्ना दिएका छन् ।
जिल्लाबाट प्रमुख जिल्ला अधिकार वीरेन्द्रप्रसाद यादवको नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
इलाम प्रतिनिधि वविता मैनालीका अनुसार इलामको देउमाइ नगरपालिकामा मत गणनाको क्रममा कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ ।
इलामको देउमाई नगरपालिकाका एक करारका कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको हो ।
नगरपालिकाका करारका एक जना कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि मतगणनामा खटिएका कर्मचारीबिचमै विवाद भएको थियो ।
विवादपछि नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धमा रहेका दल नेपाली कांग्रेस, नेकपा समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित बिरोध गर्न थालेपछि मतगणना रोकिएको हो ।
विवादपछि निर्वाचन अधिकृत हरीबहादुर दाहाल र प्रहरी विरूद्ध नाराबाजी भइरहेको मतगणनास्थलमा रहनु भएका पत्रकार टिका खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
एक पक्षीय रूपमा मतगणना भएको गठबन्धन दलले आरोप लगाएका छन ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बिवाद भए पछि मतगणना रोकेर मतपत्रको कडा सुरक्षा गरिएको बताउनु भएको छ ।
देउमाईमा नेकपाल एमालेका मेयर पदका उम्मेदवार सूर्य पोखरेल र गठबन्धनबाट कांग्रेसका होमदुलाल बिचमा प्रतिष्पर्धा छ ।




